बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्न घरेलु उद्योगलाई सकस | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्न घरेलु उद्योगलाई सकस

फूलमाया आले
काठमाडौं, १५ वैशाख । घरेलु तथा साना उद्योगीहरुले उत्पादित बस्तुको बजार व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका छन् । आफूहरुले उत्पादन गरेको बस्तुको गुणस्तर आयातित बस्तुको भन्दा कम नभएपनि बजार व्यवस्थापन नहुँदा समस्या भएको उनीहरुको गुनासो छ ।

शुक्रबार देखि काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा स्वदेशमै उत्पादन भएका लत्ताकपडा देखि, फर्निचर, खाद्यान्न लगायतका सामाग्री प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा राखिएका सामाग्री विदेशबाट आयत गरेका भन्दा कम छैनन् तर, बजार व्यवस्थापन हुन नसक्दा घरेलु उद्योगको विकास र प्रवद्र्धनमा समस्या भएको उद्योगीको भनाइ छ ।

आर्थिक वर्ष २०७२/७३ को औद्योगिक तथ्याङ्क अनुसार अहिलेसम्म लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा कुल ३ लाख ४८ हजार ८ सय ७० उद्योग दर्ता भएकोमा २ लाख ३३ हजार ५ सय ९२ उद्योगहरु मात्र नविकरण भएका छन् ।

यसमा २ लाख १७ हजार ६ सय ७७ लघु एवम साना र १ लाख ५ हजार ९ सय १५ घरेलु उद्योग रहेका छन् । उक्त तथ्याङ्कले घरेलु उद्योग सञ्चालनमा कठिनाइ देखिएको स्पष्ट हुन्छ । बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेकाले उद्योगिहरु विस्थापित भएको सरोकरवालाको भनाइ छ ।

पुरानो प्रविधि र सानो लगानीमा सञ्चालित उद्योगबाट उत्पादित सामानहरु महङ्गो हुने हुँदा बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्न कठिन भएको उनीहरुको भनाइ छ । स्वदेशी उत्पादनदाई प्रवद्र्धन गर्नका लागि कच्चा पदार्थको भन्सारमा सहुलियत दिनुपर्ने तथा बजार व्यवस्थापन गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।

मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको । नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं । भन्ने नाराका साथ सुरु भएको मेलामा १ सय ८७ वटा स्टल रहेका छन् । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनसमेत सहभागिता रहेको छ ।