पराजुलीको अवकाश साउन २१ मै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पराजुलीको अवकाश साउन २१ मै

gopal parajuli

काठमाडौं, १५ बैशाख । निजामती किताबखानाले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते नै कायम हुने निर्णय गरेको छ । न्यायपरिषदबाट प्राप्त पत्र र अन्य कानुनी आधारमा समेत ६५ वर्षे उमेरहदका कारण गत साउनकै अवकाश मिति कायम गर्ने निर्णय भएको किताबखानाले सर्वोच्च अदालतमा पठाएको पत्रमा उल्लेख छ ।

‘न्यायपरिषदको सचिवालयको पत्रमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली २०७४ साउन २१ मा नै ६५ वर्ष उमेर पूरा भई पदमा नरहेको उल्लेख भएको र कानुनको रोहमा रीतबाट अन्यथा हुने थप कुनै जानकारी प्राप्त नभएको सन्दर्भमा,’ किताबखानाको पत्रमा छ, ‘सेवानिवृत्त प्रधानन्यायाधीश पराजुलीको अवकाश मिति २०७४ साउन २१ देखि नै निवृित्तभरण पाउने गरी निवृत्तिभरण अधिकारपत्र जारी गर्नुपर्ने कानुनी दायित्व रहन्छ ।’ किताबखानाले गत चैत २० गते नै यो निर्णय गरेको पत्रमा उल्लेख छ ।

किताबखानाले पेस गरेको पत्र सर्वोच्च प्रशासनले भने गोप्य राखेको छ । किताबखानाले निर्णय र पत्रको प्रतिलिपि अनौपचारिक रूपमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई समेत पठाएको थियो । मन्त्रीको सचिवालय स्रोतबाट कान्तिपुरलाई प्राप्त उक्त प्रतिलिपिमा किताबखानाले साउन २१ गतेपछिको तलबलगायत सुविधा फिर्ता भएपछि मात्रै पराजुलीको पेन्सनपट्टा बन्ने जानकारी गराएको छ । किताबखानाले सर्वोच्च अदालतलाई साउन २१ पछिको अतिरिक्त सुविधा फिर्ता भएको यकिन गरिदिनसमेत पत्र लेखेको छ । उक्त पत्रको बोधार्थ पराजुलीलाई समेत पठाइएको छ ।

‘निवृत्तिभरण अधिकारपत्र जारी गर्दा एकै व्यक्तिले एकै समयमा समान सेवाका लागि तलबभत्ता तथा निवृत्तिभरण दोहोरो सुविधा उपभोग गर्ने सम्भावना भएकाले,’ पत्रमा छ, ‘पराजुलीले २०७४/०४/२१ देखि पदमा बहाल रही लिएको तलब भत्तालगायतका सम्पूर्ण सुविधाबापतको रकम सरकारी कोषमा दाखिला गरी सोको भौचरसहित पेस भएपछि मात्र सेवानिवृत्त पश्चातका सुविधा यकिन गर्न सकिने व्यहोरा अनुरोध छ ।’ किताबखानाले २०७४ चैत २० मा गरेको निर्णयअनुसार किताबखानाका निर्देशक चोकप्रसाद पौडेलले सर्वाेच्चलाई पत्र पठाएका हुन् ।

यसअघि न्यायपरिषद् र सर्वोच्च अदालत प्रशासनले पराजुलीको अवकाश मिति फरक–फरक उल्लेख गरेका थिए । न्यायपरिषद्ले २०७४ साउन २१ गते पराजुलीको अवकाश भएको भनी पत्र लेखेको थियो भने सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्र उपाध्यायले २०७४ फागुन ३० गते अवकाश कायम हुने गरी पत्र पठाएका थिए । उनको पत्रसमेत पदबाट अवकाश पाएपछि पराजुलीले प्रधानन्यायाधीशकै हैसियतमा लेखेको पत्रमा आधारित थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);