काठमाडौं, १३ बैशाख । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीका नेताहरुको मनोवैज्ञानिक त्रासले पार्टी एकताबारे विभिन्न आशंका उब्जाएको टिप्पणी गरेका छन् ।
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसर पारेर विहिबार सानेपामा आयोजित कार्यक्रममा ओलीले नेताहरुको त्रासले नै पार्टी एकताबारे आशंका उब्जाएको बताएका हुन् ।
उनले ‘आफू कहाँ रहन्छु’ भन्ने केहीको चिन्ताका कारण पार्टी एकता हुँदैन कि भनेर आशंका गर्ने ठाउँ उब्जाए पनि आम जनता, पार्टीका अधिकांश नेता, कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको बताए । ओलीले पार्टी एकता हुँदैन भन्ने शंका केही दिनमै अर्थहीन साबित हुने दाबी पनि गरे ।
०००