एजेन्सी, १२ बैशाख । पछिल्लो समय अमेरिका र इरानबीच विवाद चुलिएको छ । उत्तर कोरियासँगको विवाद मत्थर भएका बेला अमेरिका इरानसँगको विवादमा मुछिएको हो । परमाणु सम्झौताबाट अमेरिका अलग भए इरानले पनि सन्धि तोड्न सक्ने चेतावनी दिएको छ ।
विश्वमा शान्ति र स्थिरतालाई खलबलाउने काम हतियारको होडबाजी र परमाणु गतिविधिले गरेको छ । शान्तिपुर्वक बस्न र बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । तर, शक्ति राष्ट्र तथा परमाणु गतिविधिमा संलग्न देशले आफ्नो दम्भ देखाउँदा अन्य मुलुकका नागरिक हिंसा र युद्धको बिभिषिकाको चपेटामा फस्नु पर्ने बाध्यता छ ।
ब्यालेष्टिक मिसाइल परिक्षण गर्दै आएको उत्तरकोरियाले अब त्यस्ता परिक्षण नगर्ने घोषणा गरेको ७ दिन नबित्दै इरानले परमाणु सन्धि तोड्ने चेतावनी दिएको छ । यसबाट इरानका राष्ट्रपति हसन रोहानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावको अवस्था उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नु अघि इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली सम्खानीले सन २०१५ को परमाणु सन्धि सम्झौतामा सहभागीको हितमा छैन भने त्यसबाट हट्न सक्ने बिकल्प खुल्ला भएको बताएका छन् ।
शमखानीले उक्त परमाणु सम्झौताबाट कुनै लाभ प्राप्त नभएको खुलस्त गर्नुभएको छ । उनले परमाणु गतिबिधि पुःन शुरु गर्न सकिने इरानको क्षमताबारे जानकारी गराउँदै अव यो सम्झौता भङग गर्ने अमेरिकामा निर्भर गर्ने प्रष्ट परेका छन् । इरानको आरोप छ, अमेरिकाले पटक पटक परमाणु गतिबिधिको घेरामा इरानलाइ किन समेट्न खोज्दैछ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले दुबै पक्षले एक अर्कालाइ दोषी ठहर्याउनु भन्दा परमाणु कार्यक्रम नियन्त्रण तर्फ अग्रसर हुनुपर्ने खाँचो औल्याएका छन् । इरानका राष्ट्रपति हसन रोहानीले बेलाबखत अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने धम्की दिनु र सो अनुकुलको बाताबरण सिर्जना गर्न खोज्नुबाट राम्रो शन्देश प्रवाह नभएको बताउनु भएको छ ।
सन्धिमै प्रष्ट उल्लेख छ यदि इरान आफनो परमाणु कार्यक्रममाथि नियन्त्रण गर्छ भने उमाथि लागेको अधिकतम अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइने छ । त्यसैले अमेरिकाको ट्रम्प प्रशासन इरान लगायत अन्य यस्तै आरोप खेप्ने देशका निम्ति पनि बिश्वसनीय बाताबरण बनाउनु पर्नेमा विश्लेषकहरुले जोड दिएका छन ।