काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुका कारण विदेशीहरु सगरमाथाको आरोहण गर्न सफल भएको बताएका छन् ।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली गाइडले विदेशीहरुलाई डोर्याएर तथा बोकेर सगरमाथा पुर्याउने गरेको भन्दै अन्यथा विदेशीहरुले सगरमाथाको शिखरमा पुग्ने साहस नगर्ने बताए । उनले नेपाली वाहेक अरुले विना सहयोग सगरमाथा आरोहण गर्नै नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले सगरमाथाको आरोहण गर्नेहरुको भीडका कारण सगरमाथा क्षेत्रमा फोहोर बढेको भन्दै फोहोर हटाउनतर्फ आरोही, गाइड र अन्य सरोकारवालाहरुले ठोस पहल गर्नुपर्ने बताए । कार्यक्रममा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको सम्झना गरिएको थियो । पासाङल्हामुको निधन भएको दिनको सम्झनामा हरेक वर्षको वैशाख १० गते पासाङल्हामु दिवस मनाउने गरिएको छ । पासाङ ल्हामुको सगरमाथा आरोहण गरेर फर्किने क्रममा २०५० सालको बैशाख १० गते निधन भएको थियो ।