काठमाडौं, ९ बैशाख । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक महत्वको रानीपोखरी पुनर्निर्माणको काम आगामी जेठ एक गतेदेखि अगाडि बढाइने भएको छ । काठमाडौं महानगरपालिकाले आधुनिक निर्माण सामाग्री वैशाख मसान्तसम्म हटाएर जेठ १ गतेदेखि पुनर्निर्माणको काम अघि बढाउने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गत चैत २२ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बोलाएर पुरातत्वविद्हरुले दिएको सुझाव अनुसार रानीपोखरीको पुनर्निर्माणको काम अगाडि बढाउन निर्देशन दिएका थिए । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जेठ एक गतेदेखि पुनर्निर्माणको काम अगाडि बढाउन केही दिनभित्रै आधुनिक निर्माण सामाग्री हटाइने बताए ।
महानगरपालिकाले केही महिना पहिले कंक्रिट प्रयोग गरेर पुनर्निर्माण सुरु गरेकामा चौतर्फी विरोधपछि उपमेयर हरिप्रभा खड्गीले मेयर शाक्यले आफूखुशी काम गरेको भन्दै निर्माणस्थलमा तालाबन्दी गरेकी थिईन् । उपमेयर खड्गीले तालाबन्दी गरेपछि मेयर शाक्यले पुरातत्वविदहरु संलग्न कार्यदल गठन गरेकामा कार्यदलले क्रंक्रिटको साटो परम्परागत निर्माण सामाग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्न सुझाव दिएको थियो ।