राजपा नेपाल स्थापनाको एक वर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजपा नेपाल स्थापनाको एक वर्ष पूरा

rajapa

काठमाडौं, ८ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थापनाको शुक्रबार एक वर्ष पूरा भएको छ । मधेस केन्द्रित विभिन्न छवटा दल मिलेर २०७४ वैशाख ७ गते राजपा नेपाल गठन भएको थियो । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल मिलेर राजपा नेपाल गठन भएको थियो ।

राजपा नेपालसँग प्रतिनिधिसभामा १७ र प्रदेशसभामा २५ सांसद छन् । राजपा नेपालले प्रदेश २ मा सङ्घीय समाजवादी फोरम नेपालसँग मिलेर सरकार गठन गरेको छ । र, संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको छ । राजपा नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय पेस गरेको छ । तर, स्थापनाको एक वर्ष पूरा भए पनि दलले महाधिवेशन गराउन सकेको छैन ।

त्यसैगरी राजपा नेपालले हालसम्म संसदीय दलको नेता निर्वाचन गर्न सकेको छैन । प्रतिनिधिसभामा रहेका प्रमुख पाँच दलमध्ये चारवटा दलले संसदीय दलको नेता निर्वाचन गरिसके पनि राजपा नेपालको भने नेता निर्वाचन गर्न बाँकी नै रहेको छ । पार्टीभित्र संसदीय दलको नेताका लागि आकाङ्क्षीहरू बढी देखिएपछि निर्वाचनमा ढिलाइ भएको हो ।

यद्यपि वैशाख ८ गते राजनीतिक समितिको बैठकमा संसदीय दलका नेताको बारेमा छलफल हुन सक्ने थियो तर पार्टीका संयोजक महन्थ ठाकुर उपचारका लागि दिल्लीमा भएका कारणले बैठक स्थगित भएको छ ।  त्यसैगरी बैठक नबसेको कारण महाधिवेशनको मिति घोषणा गर्न ढिलाइ हुनुका साथै प्रदेश २ मा राज्यमन्त्री चयनमा पनि ढिलाइ भइरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);