काठमाडौं, ८ बैशाख । नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्यरूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागँ गर्ने भएको छ।
सवारी दुर्घटना न्यँनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीबोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरूपमा कक्षा सञ्चालन गर्ने भएको हो। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य अगाडि बढाएको छ।
लिखित परीक्षामा धेरै अनुत्तीर्ण भएपछि सरकारले लाइसेन्स लिनका लागि लिखित परीक्षा खुकुलो बनाएको छ। लिखित परीक्षामा २० वटा प्रश्नमध्ये दसवटा प्रश्न मिलाउनासाथ पास हुने गरेका छन्।
विभागले चालकलाई कक्षा सञ्चालन गर्न यस आर्थिक वर्षबाट नै शुरू गर्न खोजे पनि आर्थिक अभावका कारणले अगाडि बढाउन नसकिएको बताइएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरी सवारी सञ्चालन गरेको अवस्थामा चालकहरूलाई जरिवानासहित तीन घण्टा ट्राफिक नियमका बारेमा कक्षा दिँदै आएको छ। तर विभागले भने जिम्मेवार चालक बनाउने उद्देश्यले लाइसेन्स विवतरण गर्नुअघि अनिवार्यरूपमा कक्षा सञ्चालन गर्न लागेको हो।
त्यसैगरी विभागले ट्रायल पास गरेपछि लाइसेन्स प्रिन्ट भएको जानकारी सम्बन्धित चालकलाई एसएमबाट सेवा उपलब्ध गराउने भएको छ। यातायात कार्यालयमा धाउनुपर्ने, टेलिफोन गर्नुपर्ने झन्झट हटाउँदै विभागले एक महिनाभित्र नयाँ चालक अनुमतिपत्र प्राप्त गर्नेहरूलाई एसएम प्रणालीमार्फत लाइसेन्स प्रिन्ट भएको जानकारी दिने लागेको हो।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।




