काठमाडौं, ७ वैशाख । वैशाख ९ गते एमाले–माओवादीबीच पार्टी एकता नहुने निश्चित भएको छ । एकताको मिति तोक्दै सार्दै गरेका दुबै पार्टीका नेताहरु यसपाली भने अर्को मितिबारे आफैं अनभिज्ञ छन् । किनकी, अब पार्टी एकताको अन्तिम निर्णय दुई पार्टीका अध्यक्षको हातमा छ ।
पार्टी एकताको मिति तोक्दै सार्दै गरिरहेका एमाले र माओवादीले यसपटक भने अर्को मिति तोक्न सकेका छैनन् । किनकी, अब एकताको कडी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा छ ।
उनीहरुले सहमति गरेको अवस्थामा तोकिएको मितिमै पनि पार्टी एकता हुँदैन भन्न सकिँदैन । तर, त्यो सम्भावना भने लगभग टरेको छ । दुई अध्यक्षबीच भइरहेको वार्ता त्यति सकारात्मक नदेखिएकाले बैशाख ९ को मिति टर्ने निश्चित भएको हो ।
दुई पार्टीबीच हुने भनिएको एकतालाई सैद्धान्तिक, वैचारिक र नीतिगत विषयभन्दा बढी स्वार्थले रोकेको विश्लेषकहरु बताउँछन् । माओवादी अध्यक्ष दाहाल अस्तित्व जोगाउने र ओली चाहिँ शक्ति जोगाउने प्रयासमा लागेकाले एकतामा अल्झन देखिएको विश्लेषकहरुको भनाइ छ ।
कुरा भागबन्डामै नमिलेको हो भन्ने आशंका दुई पार्टीका नेताले दिइरहेको पछिल्ला अभिव्यक्तिले पुष्टि गरिसकेको छ । माओवादीले केन्द्रीय कमिटीमा समान अनुपात खोज्नु र एमालेले जनमतका आधारमै केन्द्रीय कमिटीको संरचना बनाउने भन्ने अडान कायम राख्नु नै अहिले एकताको गाँठो हो ।
दुई पार्टी अब पनि ‘भने, तर, किन्तु, परन्तु’मा अल्झिन नहुने विश्लेषकहरु बताउँछन् । खासगरी माओवादी एजेण्डाका हिसावले धेरै अगाडी भएपनि त्यसलाई छाडेरै एमालेको शरणमा पुगेकाले एकताबाट फर्कन सक्ने अवस्थामा नरहेको उनीहरुको बुझाइ छ । र, माओवादीले बराबरीको हैसियत खोज्नु पनि स्वभाविक नभएको विश्लेषकहरुको भनाइ छ ।
विश्लेषकहरुले भनेजस्तै माओवादीसँग अब कि त एमालेले दिएको आकारमा एकता रोज्ने वा त्यसलाई छोडेर स्वतन्त्र अस्तित्व रोज्ने मध्ये एउटा मात्र विकल्प बाँकी छ । संसदको ठूलो पार्टी एमालेसँग पनि माओवादीलाई विश्वासमा लिएर एकता गर्ने वा फेरि अस्थिरतालाई मार्ग प्रशस्त गर्ने भन्ने दुई विकल्प बाँकी छन् ।
दोस्रो चाहिँ विकल्प दुबै पार्टीसँगै मुलुककै लागि प्रत्युत्पादक हुने कुरामा दुई मत छैन । त्यसैले ‘मेरो गोरुको बार्है टक्का’ नभनी एकताका लागि दुबै पार्टीले थोरथोरै त्याग गर्ने हिम्मत गर्नुपर्ने पुराना कम्युनिष्ट नेताहरु बताउँछन् ।




