विमानस्थलका कहालीलाग्दो घट्नाले सरकारलाई गिज्याउदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विमानस्थलका कहालीलाग्दो घट्नाले सरकारलाई गिज्याउदै

malindo air

तेजना पण्डित
काठमाडौं, ७ बैशाख
। हिजो राति सवा १० बजेदेखि झण्डै १४ घण्टा मुलुककै एकमात्र अन्तर्राष्टिय विमानस्थल ठप्प भयो । एउटा विमान धावन मार्गमा धसिएपछि यात्रुहरुले सास्ती झेल्नुपर्‍यो । २४ घण्टा नै विमानस्थल चलाउन लागिएको भन्दै भाषण गर्ने प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई विमान स्थलमा हुने यस्ता घट्नाले गिज्याइरहेका छन् ।

तीन सय जहाज आवतजावत गर्ने क्षमता रहेको मुलुकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जहाँ पाँच सय जहाजहरु देश–बिदेश आवत जावत गर्ने गर्दछन् । तर, यो विमानस्थलको हालत निकै उदेकलाग्दो छ । विमानस्थलका अधिकारीहरुको भाषामा अहिले यो कामचलाउजस्तै बनेको छ । धावनमार्गदेखि आवश्यक पूर्वाधारको मर्मत तथा विकास नगरिँदा विमानस्थलमा जोखिम बढिरहेको भन्दै सरकारलाई विज्ञहरुले सुझाउँदै आएका छन् । तर, प्रधानमन्त्री र मन्त्रीहरुले यसको विकासमा भन्दा यसलाई आफ्ना भाषणलाई ताली कमाउने गरी प्रयोग गरिरहेका छन् ।

विहीबार सवा १० मा मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज विमानस्थलको धावन मार्गबाट ४० मिटरको दूरीमा घाँसे मैदानमा गएर धसियो । तर, आवश्यक उपकरणको अभावमा उक्त विमानलाई निकाल्न कठिन भयो । यसरी एउटा जहाज हटाएर उडानलाई निरन्तरता दिन नै १४ घण्टा लाग्यो । विमानस्थल ठप्प हुँदा सयौँ यात्रुहरु अलमलमा परे । आफूहरुलाई विमानस्थलबाट कुनै सूचना नै नदिइएको उनीहरुले गुनासो गरे ।

यति लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा विदेशी पर्यटकहरु पनि छक्क परे । उनीहरुले निकै ठूलो घट्ना भएको हुन सक्ने अड्कलबाजी गरे । तर, विमानस्थलबाट उनीहरुले कुनै जानकारी पाएनन् । आफूहरुले के भएको र कतिबेला उडान हुने भन्नेकुरा जानकारी नपाउँदा घण्टौँसम्म अन्योलतामा बस्नुपरेको उनीहरुले गुनासो गरे ।

मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले समग्र राष्ट्रको प्रतिनिधित्व गर्दछ । त्यसैले यहाँ हुने सानातिना घट्नाले अर्थ राख्छन् । तर, सरकारदेखि यहाँका कर्मचारीसम्म यो संवेदनशीलताप्रति चनाखो भएको पाइँदैन । बरु प्रधानमन्त्री र मन्त्रीले विमानस्थललाई हलुका भाषणमा सीमित गरिदिने गरेका छन् । के यसरी देश समृद्ध बन्छ ? अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी राम्रो बन्छ ? सरकारसामू प्रश्न तेर्सिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);