काठमाडौं, ६ बैशाख । सेयर बजारमा आज पनि हरियाली छाएको छ । नेप्से सूचक बिहीबार २५ दशमलव ३० अंकले बढेर १३ सय ८८ दशमलव ३१ विन्दुमा पुगेको छ ।
कुल १ सय ६८ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । नेप्सेमा कारोबार भएका १० वटा समूहमध्ये ट्रेडिङबाहेक बाँकी सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै बीमा समूहको सूचक ५१ दशमलव २३ अंकले बढेको छ ।
यसैगरी, हाइड्रोपावर समूह पनि ४४ दशमलव ८७ अंकले बढेको छ । वाणिज्य बैंक समूह २४ दशमलव ५१ अंकले माथि लागेको छ । कारोबार रकममा चिलिमे हाइड्रोपावरले अग्रता लिएको छ । चिलिमेको ४ करोड २१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो ।
निरन्तर घटेर भाउ निकै तल भए पछि एकाएक ठूला र संस्थागत लगानीकर्ता बजार प्रवेश गरेका थिए । उनीहरुको पछिपछि म्युचुअल फन्डहरु पनि लाग्दा बजारमा उत्साह छाएको हो ।