काठमाडौं, ५ वैशाख । आगामी बैशाख ९ गतेदेखि १४ गतेसम्म भारतमा आयोजना हुने बेसबल राष्ट्रपति कप प्रतियोगितामा नेपालले पनि भाग लिने भएको छ ।
अनिल परियार कप्तान र रोशन थापा प्रशिक्षक रहेको राष्ट्रिय टोली भोलि प्रतियोगितामा भाग लिन भारतको गुहाटी प्रस्थान गर्दैछ । २५ सदस्यीय टोलीलाई बुधबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपालको राष्ट्रिय झण्डा दिएर विदाई गरेका छन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, इरानसहित ६ देश सहभागी हुनेछन । सो अवसरमा मन्त्री विश्वकर्माले प्रतियोगितामा सफलता हासिल गरी देशको प्रतिष्ठा झनै उच्च बनाउन खेलाडीहरुलाई शुभकामना दिए ।
प्रतियोगितमा नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुर बेस बल क्लवका खेलाडीहरु सहभागी रहेको खेल प्रशिक्षक रोशन थापाले जानकारी दिए । यो खेलमा विजेता बने नेपाल विश्व वरियतामा २० औं स्थानमाथि उक्लनेछ । हाल नेपाल यो खेलको वरियतामा ७१ औं स्थानमा रहेको छ ।




