सरकारी गाडीमा सेतो नम्बर प्लेट अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सरकारी गाडीमा सेतो नम्बर प्लेट अनिवार्य

sarkari gadi

काठमाडौं, २ बैशाख । अब सरकारका सबै उच्च अधिकारीले चढ्दै आएको सरकारी गाडीको नम्बर प्लेट अनिवार्य रूपमा सेतो बनाउनुपर्ने भएको छ।रातो (निजी) नम्बर प्लेट प्रयुक्त सरकारी गाडीको अत्यधिक दुरुपयोग भएपछि गृह मन्त्रालयले कडाइ गर्न लागेको हो। भर्खरै गृहमा सरुवा भएका सचिव प्रेमकुमार राईले यसअघि गृहसचिवले चढ्दै आएको रातो प्लेटको गाडीको नम्बर प्लेट सेतो बनाएर सुरुवात आफैंले गरेका छन्। यसअघिका प्राय:जसो सबै गृहसचिवले रातो प्लेटको गाडी चढ्दै आएका थिए।

सरकारी उच्च अधिकारीहरूले आफूले पाउने सुविधाको गाडीको सेतो प्लेट फेरेर रातो बनाउने क्रम बढेको थियो। रातो प्लेट बनाएर सरकारी अधिकारीले सरकारी गाडीको निजी र घरायसी काममा अत्यधिक दुरुपयोग गरेको पाइएपछि नियन्त्रण गर्न गृहकार्य थालिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले सबै सरकारी अधिकारी र संवैधानिक निकायका पदाधिकारीले सेतो प्लेट अनिवार्य प्रयोग गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको जानकारी दिए। ‘सेतो प्लेट हटाएर रातो बनाउनु दुरुपयोग गर्नु नै हो, त्यसैले त्यस्तो प्रवृृत्ति रोक्न कडाइ गर्ने गृहकार्य थालेका हौं’, उनले भने।

गृहका अनुसार यसरी सेतो प्लेट फेरेर रातो बनाई गाडी चढ्नेहरूमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा सदस्य, अधिकांश मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक तथा विभिन्न आयोजना, परियोजना प्रमुखहरू छन्। सरकारी गाडीको दुरूपयोग गर्ने सरकारी उच्च अधिकारीको संख्या ५ सयदेखि १ हजारसम्म रहेको गृहको आकलन छ।

सरकारी अधिकारीहरूले यसअघि गाडीको सेतो प्लेट फेरेर रातो बनाउन गृहमा निवेदन दिने गरेका थिए। गृहले निवेदनका आधारमा सेतो प्लेट रातो बनाउन अनुमति दिएपछि यातायात व्यवस्था विभागले पनि सहजै सेतो प्लेटका सरकारी गाडीको नम्बर प्लेट रातो बनाउने गरेको थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);