काठमाडौं, २८ चैत । सरकारले वन क्षेत्रमा देखिएका बेथितिको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिको अभियानमा वनको योगदानलाई बढाउन समस्या र चुनौती समाधान गरेर अघि बढ्ने बाचा गरेका हुन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा वनमन्त्री बस्नेतले वनको बहुआयामिक प्रयोगलाई ध्यान दिएर सकारले वन नीति ल्याउने पनि बताए । ठूला विकास निर्माणका कार्य वनकै कारण ढिलो र नबन्ने गुनासो आइरहेका बेला मन्त्री बस्नेतले अब त्यस्तो अवस्थाको अन्त्य हुने दाबी गरेका हुन् ।
विशेष गरी ठूला र बहुउद्देश्य आयोजना निर्माण गर्दा वन क्षेत्र प्रयोग गर्नुपर्ने भए पनि सम्बन्धी पक्षले पर्यावरण मूल्यांकन प्रतिवेदनजस्ता विभिन्न कारण देखाएर लामो समय रोक्ने गरेका छन् । नेपालमा ४४ प्रतिशक्ष भू–भाग वन क्षेत्रले ओगटे पनि कुल गार्हस्थ उत्पादनमा कति योगदान गरेको छ भन्ने यकिन छैन ।
अब राष्ट्रिय अर्थतन्त्रमा योगदान हुने गरी वनलाई संरक्षण मात्र नभइ बहुआयामिक ढंगबाट प्रयोग गर्ने अवस्था सरकारको नीति तथा कार्यक्रममार्फत ल्याउन लागिएको मन्त्री बस्नेतले बताए ।