नयाँ आईजीपीको दौड तीव्र, दुवै संगठनमा खनाल अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नयाँ आईजीपीको दौड तीव्र, दुवै संगठनमा खनाल अगाडि

new igp

काठमाडौं, २६ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कनको आधार बनाएको छ।

सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ। खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बन्नुभएको थियो भने उहाँका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो। कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा खनाल एक नम्बरमा रहनुभएको छ। नेपाल प्रहरीमा यसअघि वरीयता मिचिए पनि सशस्त्र प्रहरी बलमा भने अहिलेसम्म वरिष्ठतालाई बेवास्ता गरिएको छैन। सशस्त्र प्रहरी बल अर्धसैनिक प्रकृतिको संगठन भएकाले पनि सरकारले सो संगठनलाई विवादमुक्त बनाउने काम गर्दै आएको छ।

संगठन प्रमुखका लागि खनालभन्दा ११ महिनापछि एआईजीमा बढुवा भएका पुष्पराम केसीले समेत आफ्नो लबिङलाई तीव्र बनाएका छन्। भ्रष्टाचारको आरोपमा आईजीपीमा बहाल छँदै निलम्बनमा परेका कोषराज वन्त निकट भनेर चिनिने केसी सशस्त्र बलको कार्यविभागमा कार्यरत रहेका छन्। खनाल भने एआईजी भएदेखि नै मानवस्रोत विकास विभागमा कार्यरत छन्।

विशेष अदालतमा मुद्दा विचाराधीन रहेका पूर्वआईजीपी वन्तले एआईजी केसीलाई आईजीपी बनाउन शक्तिकेन्द्रसँग लबिङ गरिरहेको स्रोतले दाबी गरेको छ। खनाललाई रोकेर आफू अनुकूलका केसीलाई आईजीपी बनाउन सके आफ्नो भ्रष्टाचारको मुद्दामा आफू अनुकूलको सहयोग प्राप्त हुने अपेक्षा गर्दै पूर्वआईजीपी वन्तले एआईजी केसीलाई अगाडि ल्याउन शक्ति केन्द्र धाइरहेको आरोप लागेको छ।

पूर्वआईजीपी वन्त नेपालको सुरक्षा निकायको इतिहासमा बहालमै छँदा भ्रष्टाचारको आरोपमा निलम्बनमा परी पछि अवकाश पाएका थिए। निलम्बन परेयता सशस्त्र प्रहरी बलको कुनै पनि औपचारिक कार्यक्रममा वन्तले हालसम्म उपस्थिति जनाउन सकेका छैनन्।

सशस्त्र प्रहरीमा सेनामा झैं वरिष्ठताको आधारमा संगठन प्रमुख नियुक्त गर्ने परम्परा छ। सशस्त्रको झण्डै २ दशकको इतिहासमा सबै आईजीपीहरू वरिष्ठताको आधारमा तोकिएको छ। सोही आधारमा किशोर लामा १४ दिन आईजीपी हुनुभएको थियो। पूर्वआईजीपी लामाले अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरीमा वरीयताकै आधारमा आईजीपीमा बढुवा हुने गरेको बताउनुभयो। उहाँले सशस्त्रमा भएको वरिष्ठताको आधारको परम्परालाई नबिगारी लैजानुपर्ने बताउनुभयो।

पूर्वआईजीपी लामाले भन्नुभयो– वरिष्ठताको आधारलाई बिगारियो भने नेतृत्वमा आउने होडबाजीले संगठनलाई क्रमशः धरासाही बनाउँदै लैजान्छ। पूर्वआईजीपी दुर्जकुमार राईले सशस्त्र प्रहरीमा अब आउने नयाँ आईजीपीमा एआईजी खनालको कोही प्रतिस्पर्धी नै नरहेको बताउनुभयो। उहाँले सशस्त्र प्रहरी बलमा रहेको बिशिष्ट परम्परालाई तोडियो भने संगठन धरासायी हुने नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।
सशस्त्रका बहालवाला एक डीआईजीले चेनअफ कमान्ड बिग्रन नदिन सशस्त्र प्रहरी बलमा स्थापना कालदेखि नै एक नम्बरमा रहेका एआईजी आईजीपी हुने परम्परा रहेको बताए।

यता नेपाल प्रहरीले पनि ३ दिनपछि नयाँ आईजीपी पाउँदै छ। नयाँ आईजीपीका लागि १ नम्वरमा रहेका डीआईजी सर्वेन्द्र खनाल बलियो उम्मेदवारको रूपमा प्रस्तुत हुनुभएको छ। २०४६ सालमा प्रहरी सेवा प्रवेश गरेदेखि नै विभिन्न क्षेत्रमा आफ्नो कार्यकुशलता देखाई सक्नुभएका डीआईजी खनालको पछि–पछि रमेश खरेल र पुष्कर कार्कीले प्रतिस्पर्धा गरिरहनुभएको छ। नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो।

मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। खनालले तराईमा फैलिएको भूमिगत गिरोहलाई छिन्नभिन्न पार्नुका साथै नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल लुक्ने अपराधीको समूहलाई समेत ध्वस्त बनाएका थिए।

डीआईजी खनाल अपराध महाशाखाको प्रमुखका रूपमा आएपछि फुटबलमा हुने म्याचफिक्सिङ, गुण्डाका नाईके कुमार घैंटेको इन्काउन्टर, पेट्रोल पम्पहरूमा हुने ठगी र मानव बेचविखनमा परेर अलपत्र परेका ६ सय जनाको उद्धार, कन्सलटेन्सीमा छापा, हुण्डीको गिरोहलाई तहसनहस बनाउने काम गर्नुभएको थियो।

खनालपछि दोस्रो नम्बरमा रहेका खरेलले कामभन्दा पनि भाषण र प्रचारलाई बढी महत्त्व दिएर चर्चामा आउनुभएको थियो। नेपाल प्रहरीमा आइकनको रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका खरेलले तराईका केही भूमिगत समूहलाई नियन्त्रणमा लिनेबाहेक अन्य काम नगरेको तर प्रचार बढी गरेको भन्ने आरोपसमेत खेप्दै आउनुभएको छ। अहिले आईजीपीका लागि तीव्र लबिङमा लाग्नुभएका खरेलले एमालेका केही नेतालाई बोकेर प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा हुनुहुन्छ। यसअघि खरेलले नेताको घर नधाउने र ब्रिफकेससमेत नबोक्ने घोषणा गर्नुभएको थियो। त्यस्तै आईजीपीको दौडमा रहनुभएका अर्का डीआईजी पुष्कर कार्कीले समेत आफूलाई आईजीपीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ।

उहाँले विगतमा आफूले गरेको कामको आधारमा आईजीपी हुनुपर्ने जिकिर गर्दै आउनुभएको छ। कार्कीको नेतृत्वमा चरीको इन्काउन्टर र मनोज पुनको इन्काउन्टर गरेको थियो। अघिल्लो सरकारले वरीयतामा १ नम्बर रहेका नवराज सिलवाललाई आईजीपी नबनाई ३ नम्बरमा रहेका जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गरेपछि उक्त मुद्दाले राष्ट्रियरूपमा चर्चा पाएको थियो। सरकारले विधि र प्रक्रियालाई उल्लंघन गरेर कानुनी शासनको विरुद्ध गएपछि सर्वोच्च अदालतले सरकारको निर्णयलाई उल्टाइदिएपछि मुलुकको राष्ट्रिय राजनीतिमा समेत त्यसले ठूलो प्रभाव पारेको थियो। आईजीपी प्रकरण र प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगले कांग्रेसलाई सरकारबाट मात्रै फ्याँकेन कमजोर प्रतिपक्षमा पुर्याइदिएको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);