नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठ सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल र भारतबीच १२ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठ सहित)

नेपालकाे भ्रमण गर्न भारतका प्रधानमन्त्री मोदीलाई ओलीकाे निमन्त्रणा

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिवार हैदरावाद हाउसमा भएको छलफलपछि दुई देशको तर्फबाट १२ बुँदे संयुक्त वक्तव्य जारी भएको हो । प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री भइ भारतको राजकीय भ्रमण गर्दा यसरी दुई देशबीच संयुक्त वक्तव्य जारी भएको थिएन ।

१२ बुँदे संयुक्त वक्तव्यको पूर्णपाठ यस्तो छ :

१. नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली २०१८ अप्रिल ६ देखि ८ सम्म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएको छ ।

२. २०१८ अप्रिल ७ मा दुवै देशका प्रधानमन्त्रीले व्यापकरूपमा दुई देशबीच रहेको बहुमुखी सम्बन्धको विस्तार गर्ने विषयमा समीक्षा गर्नुभयो । उहाँहरूले दुवै देशका सरकारी, निजी क्षेत्र र जनताको स्तरबीच बढ्दो साझेदारीको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्री समानता, आपसी भरोसा, सम्मान र लाभको आधारमा सम्बन्धलाई नयाँ उचाइमा उठाउन एकसाथ काम गर्न सहमत हुनुभएको छ ।

३. नेपाल-भारत सम्बन्ध बलियो साझा ऐतिहासिक, सांस्कृतिक आधारमा बनेको स्मरण गर्दै दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको सिमानामा नियमित र उच्चस्तरको राजनीतिक आदानप्रदानको महत्त्व रहेको कुरामा सहमति जनाउनुभएको छ ।

४. नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भारतसँग मित्रता सम्बन्धलाई अझ बलियो बनाउनका लागि जोड दिइने कुरा बताउनुभएको छ । उहाँले आर्थिक प्रगति र विकासका लागि भारतको प्रगति र समृद्धिबाट लाभ उठाउनका लागि द्विपक्षीय सम्बन्ध विकास गर्न नेपाल सरकारको इच्छा रहेको कुरा व्यक्त गर्नुभएको छ । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको प्राथमिकता अनुसार नेपालसंग आफ्नो साझेदारी बलियो बनाउन आफ्नो सरकार प्रतिवद्ध रहेको कुरा बताउनुभएको छ ।

५. ‘सबका साथ, सबका विकास’को नाराअनुसार भारत समावेशी विकास र समृद्धिको साझा दृष्टिका लागि आफ्ना छिमेकीहरूसंग भारतको सम्बन्धको एक महत्वपूर्ण ढांचा हो भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि सरकारले आर्थिक परिवर्तनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनु भयो । प्रधानमन्त्री मोदीले नेपाली जनता र नेपाल सरकारलाई यो सफलताको लागि बधाई दिनुभएको छ ।

६. दुवै प्रधानमन्त्रीहरूले नेपालको वीरगञ्जमा एकीकृत चेकपोस्टको उद्घाटन गर्नुभयो । यसको प्रारम्भिक परिचालनले सीमापार व्यापार बढाउने र सामानहरूको पारगमन र साझा विकासका लागि अधिक अवसर ल्याउने मानिसहरूको आन्तरिक गति बढाउने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो ।

७. दुवै प्रधानमन्त्रीले मोतिहारी-अमलेखगञ्ज क्रस बोर्डर  पेट्रोलियम आपूर्ति पाइपलाइनको शिलान्यास गर्नुभयो ।

८. दुबै प्रधानमन्त्रीहरूले नेपालमा द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको आवश्यकतालाई जोड दिनुभयो र सहकार्यको एजेन्डाहरूलाई बढावा दिनका लागि अहिले अस्तित्वमा रहेका द्विपक्षीय संयन्त्रहरूलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।

९. पारस्परिक हितका निम्नलिखित प्रमुख क्षेत्रहरूमा तीनवटा अलग साझेदारी भयो ।

• भारत-नेपाल : कृषिमा नयाँ साझेदारी

• रेल लिङ्कहरू विस्तार गर्दै रक्सौललाई नेपालको काठमाडौंसम्म जोड्ने

• भारत र नेपालबीच इनल्याण्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सिर्जना गर्ने

१०. दुवै प्रधानमन्त्रीहरू यसमा सहमत हुनुभएको छ कि यो भ्रमणले दुई देशबीचको बहुमुखी साझेदारीमा नयाँ गतिशीलता थपेको छ ।

११. प्रधानमन्त्री ओलीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई गरिएको न्यानो अातिथ्यताका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो।

१२. प्रधानमन्त्री ओलीले नेपालकाे भ्रमण गर्न प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिनुभयो ।  प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभयो र त्यसको मिति कुटनैतिक तहबाट निर्धारण गरिने कुरामा दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);