काठमाडौं, २२ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको समेत अध्ययन गरेर राष्ट्रिय सभालाई परिपक्व र प्रभावकारी सदनको रुपमा स्थापित गर्ने योजना पनि अघि सारे ।
बिहीवार राष्ट्रिय सभाका सदस्यहरुको अन्तरक्रिया कार्यक्रममा उहाँले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठाउने गरेको उल्लेख गर्दै त्यसको औचित्य र आवश्यक्ता पुष्टि हुनेगरी काम गर्न पनि राष्ट्रिय सभाका सदस्यहरुको गम्भिर ध्यानाकर्षण गराए ।
कार्यक्रममा राष्ट्रिय सभाको आवश्यक्ता र औचित्यमाथि प्रकाश पार्दै पूर्व सांसद एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रिय सभाको दायरा प्रतिनिधिसभाको भन्दा ठूलो रहेको दावी गरे । उनले प्रतिनिधिसभाको कामको निरीक्षण गर्ने दायित्व राष्ट्रियसभाको भएको पनि उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय सभाले गर्ने कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका विषयमा पनि छलफल गरिएको थियो ।