‘देशको शिर निहुरिने काम गर्दिनँ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘देशको शिर निहुरिने काम गर्दिनँ’

pm kp oli

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै विकासमा छिमेकीको सहकार्य जुटाइने बताएका छन्। चैत २३ देखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले दुई देशबीच नयाँ सम्झौताभन्दा पुरानै सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारे।

आफ्नो भारत भ्रमणबारे मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले नयाँ सम्झौताको चाङ लगाउने भन्दा पुराना कार्यान्वयन र विकासमा सहकार्यको खोजी गरिने बताए। ‘देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने कुनै काम हुँदैन, गरिँदैन,’ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा भने, ‘विकासमा सहकार्यका साथ ठूलै लाभ लिने प्रयत्न हुनेछ।’

अघिल्लो पटकको भारत भ्रमणमा पनि आफूले नयाँ सम्झौता नगरेको भन्दै ओलीले यसपटक पनि पुरानै सम्झौता कार्यान्वयनमा जोड दिइने बताए। ‘यसपटक पनि सम्झौताको चाङ लगाउने भन्दा पनि पुराना कसरी कार्यान्वयन गर्ने भन्नेमा जोड रहन्छ’, ओलीले भने, ‘नयाँ हुँदा पुराना बिर्संदै जानु हुन्न।’नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध र मित्रता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसै–कसैले त्यो सम्बन्ध बिगार्न खोजे पनि बिग्रँदैन र सप्रने ठाउँमा आइपुग्छ।’

नेपालले कसैप्रति अर्गेल्याइँ नगर्ने उल्लेख गर्दै ओलीले आफ्ना हितअनुकूल राखियो भने ‘सुन्न’ तयार हुनुपर्ने बताए। देश र जनताको अधिकतम हितलाई ध्यानमा राखेर नेपाल–भारत सम्बन्ध सुदृढ र मजबुत बनाई भ्रमणलाई उपलब्धिमूलक बनाइने ओलीले बताए। ओलीले आफ्नो भारत भ्रमणमा एजेन्डाबारे पनि संसद्लाई जानकारी गराए। कृषिको आधुनिकीकरण र व्यवसायीकरण, गंगाको बाटोबाट सामान ल्याउन जलमार्ग प्रयोग र विभिन्न परियोजनामा सहुलियत ऋणबारे छलफल हुने प्रधानमन्त्रीले जानकारी दिए।

यस्तै, रेलमार्ग, ऊर्जा उत्पादन र व्यापार सम्झौता, पञ्चेश्वर निर्माण, एकीकृत चेकपोष्ट, हुलाकी राजमार्ग निर्माण, सीमापार परियोजना, कृषिको आधुनिकीकरण, पुनर्निर्माणमा भारतले गरेको सहयोग प्रतिबद्धता कार्यान्वयन, नेपाल प्रवेश गर्ने थप हवाई बिन्दु, बाढी र डुबान, पारवहन, ग्यास बुलेट समस्या, सार्क सम्मेलन, नोटबन्दी समस्याबारे पनि कुराकानी हुने प्रधानमन्त्री ओलीले जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माणमा भारतले लिएका परियोजनाको निर्माण र सहायता रकमको उपलब्धताबारे कुराकानी हुने ओलीले बताए। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन हुन नसकेको बारे पनि भारतसँग कुराकानी हुने प्रधानमन्त्रीले बताए। ‘सार्कजस्ता संस्थाको भविष्य संकटमा पर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं’, प्रधानमन्त्री ओलीले भने। नेपालले केही समयभित्र बिमस्टेक सम्मेलन गर्नुपर्ने र त्यसबारे पनि कुराकानी हुने ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल र एक्लाएक्लै भेटवार्ता हुने, भारतका राष्ट्रपति, उपराष्ट्रपति, केही मन्त्री र उच्च सरकारी अधिकारीसँग शिष्टाचार भेट हुने जानकारी दिँदै ओलीले भने, ‘भारतसँगको अशोभनीय व्यापार घाटा कम गर्ने, लगानी आकर्षण गर्ने र उत्पादन बढाउने तथा निर्यात वृद्धि गर्ने विषयमा कुराकानी हुन्छ।’नेपालमा लगानीका लागि भारतीय उद्योगपति, बुद्धिजीवी र त्यहाँस्थित नेपालीसँग पनि छलफल हुने उनले जानकारी दिए। भारत भ्रमणका क्रममा उत्तराखण्डथित गोविन्द पन्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको भ्रमण गरी नेपालका कृषिलाई कसरी आधुनिकीकरण, व्यवसायीकरण र अग्र्यानिक बनाउने भन्नेमा पनि छलफल हुने उनले जनाए।

छिमेकीसँग सन्तुलित, बराबरीको मित्रता, विश्वासयुक्त वातावरणको सम्बन्ध कायम गरिने र एकले अर्कामा अपमानबोध हुने गरी कुनै पनि काम नगरी पारस्परिक लाभ र सम्मान हुने गरी अघि बढिने प्रधानमन्त्री ओलीले बताए। भारतसँगको सम्बन्ध अझै सुदृढ र प्रगाढ बनाउन आफ्नो भ्रमणले मद्दत मिल्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘छिमेक नीति के हो भनी सोध्यो भने म भन्छु, मित्रता नै छिमेक नीतिको यात्रा हो।’भारतका जायज चिन्ता र चासोप्रति नेपालले ध्यान दिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे। आतंकवाद, मानव तस्करी, खुला सीमाबाट हुने आपराधिक गतिविधिजस्ता भारतका जायज चिन्ता र चासोप्रति हामी पनि संवेदनशील छौं’, ओलीले भने।

भ्रमण एजेन्डा
– गंगाको बाटोबाट सामान ल्याउन जलमार्ग

– विभिन्न परियोजनामा सहुलियत ऋण

– रेलमार्ग, ऊर्जा उत्पादन र व्यापार सम्झौता

– पञ्चेश्वर निर्माण, एकीकृत चेकपोस्ट, हुलाकी राजमार्ग

– सीमापार परियोजना, कृषिको आधुनिकीकरण

– पुनर्निर्माणमा भारतले गरेको सहयोग प्रतिबद्धता कार्यान्वयन

– नेपाल प्रवेश गर्ने थप हवाई बिन्दु

– बाढी र डुबान, पारवहन

– ग्यास बुलेट समस्या

– सार्क सम्मेलन, नोटबन्दी समस्या, आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);