साउन २६, काठमाण्डौं ।
स्थानीय तहका जनप्रतिनिधिहरुले सडक बोर्ड खारेज गर्न सरकारसँग माग गरेका छन् ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले दिएको जिम्मेवारी पूरा नगर्ने सडक बोर्ड खारेज गर्नुको विकल्प नरहेको बताउनु भएको हो । उहाँले सडकको उचित व्यवस्थापन गर्न स्थानीय तहमा सोझै बजेट पठाउने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।
विहिबार काठमाडौंमा आयोजित ‘दीगो सडक मर्मत, संहार र स्थानीय सरकारको भूमिका एवम् दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर प्रजापतिले सडकको जीर्ण अवस्थाकै कारण देशका विभिन्न भागमा मानिसहरुको ज्यानै जाँदा समेत पनि सडक बोर्ड जिम्मेवार नदेखिएको स्पष्ट पार्नुभयो ।
उहाँले सडकको उचित व्यवस्थापनको काम स्थानीय सरकारले मात्रै गर्न सक्ने दावी पनि गर्नु भयो । मेयर प्रजापतिले राजधानी काठमाडौंको सडकको अवस्था हेरेपछि सडक बोर्डको गैरजिम्मेवारपन प्रष्ट झल्कने पनि स्मरण गराउनु भयो । सडक बोर्डले सडक मर्मत, संहारका लागि वार्षिक ४ अरव बजेट पाउने गरेको छ ।
तर ती बजेट कामै नगरी खर्च हुने गरेको पाइएको पनि दावी गरिएको छ । सडक बोर्ड सडकको मर्मत, संहार गर्ने जिम्मेवार सरकारी निकाय हो । बोर्ड आफ्नो कामप्रति जिम्मेवार नदेखिएको मेयर प्रजापतिको आरोप छ ।