सरकारले बजेट नदिएपछि योगीकुटी-तिनाउ सडक निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले बजेट नदिएपछि योगीकुटी-तिनाउ सडक निर्माण अलपत्र

बुटवल । सरकारले बजेट निकासा नगर्दा योगीकुटी-तिनाउ (सीमा) सडक निर्माणको काम रोकिएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । काम सुरु भएको ६ महिना बितिसक्दासमेत सरकारले बजेट नदिएपछि सडक निर्माण रोकिएको हो ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

गत साउनमा ठेक्का सम्झौता भएको यो सडक आसपास पर्ने घरहरूका केही भाग भत्काइसकिएको छ । करिब १८० घरमा गरी ३० करोड रूपैयाँ क्षति भइसकेको तर सडक निर्माण अलपत्र परेको योगीकुटी-तिनाउ (सीमा) सडक उपभोक्ता समितिका अध्यक्ष भूमिप्रसाद सापकोटाले बताए । “यो सडक निर्माणका लागि बजेट विनियोजन भएपछि स्थानीय सबै उत्साहित थिए, तर अहिले शीर्षक नै परिवर्तन भएको सुनिएको छ, धुलो र प्रदूषणका कारण यहाँ यात्रा गर्नेहरूको स्वास्थ्यमा गम्भीर समस्या परिरहेको छ,”उनले भने ।

सडकको कुल लागत ६ करोड ५० लाख रुपैयाँ छ । तर निर्माणमा ढिलाइ हुने भएपछि लागत बढ्ने देखिएको निर्माण कम्पनी सिद्धार्थ दर्शन बीकोन जेभी काठमाडौंका प्रबन्ध निर्देशक सरोज गौतमले बताए ।

गत साउनमा ठेक्का सम्झौता भएको यो सडकको काम असोजबाट सुरु भएको थियो । अहिलेसम्म ५० लाख सम्मको काम भएको गौतमले बताए । “पेस्की दिनु त कहाँ हो कहाँ, काम गरेको ५० लाखको पनि भुक्तानी पाएको छैन, मोबिलाइजेसन, बिल केहीको पनि भुक्तानी नपाएकाले अब काम अगाडि बढाउन सक्ने कुरा भएन,” सापकोटाले भने ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सडकको फाइल भौतिक पूर्वाधार मन्त्रालयमा रोकिएकाले अगाडि नबढेसम्म काम सुरु हुने सम्भावना नदेखिएको बताए । “भौतिक मन्त्रालयमा गएको फाइल त्यहाँबाट स्वीकृत भएर अर्थमा पुगेपछि बजेट निकासा हुने हो, तर फाईल अगाडि बढेको छैन”, उनले भने ।

सरकार परिवर्तनसँगै उक्त सडक्अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको स्थानीय बासिन्दा एवं सापकोटा फार्मेसीका सञ्चालक चोकलाल सापकोटाले बताए । “हामीले आफ्नो क्षति व्यहोरेर भए पनि सडक निर्माण हुने भएपछि खुसी भएका थियौं, तर अहिले सडक अलपत्र पर्दा निराश छौं, तत्काल बजेट निकासा गरेर सडक निर्माण होस् भन्ने हाम्रो माग छ”, उनले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);