काठमाडौं, १४ चैत । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाले अस्विकृत गरेको विधेयकलाई पनि प्रतिनिधिसभाले स्विकृत गर्ने व्यवस्था हुने भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बुधबारको बैठकले राष्ट्रियसभामा अस्विकृत भएको विधेयकलाई पनि प्रतिनिधिसभाले स्विकृति गर्ने प्रावधान राख्ने निर्णय गरेको हो । राष्ट्रियसभाले अस्विकृत गरेको विधेयकलाई पनि प्रतिनिधिसभाले मान्यता दिने व्यवस्था गर्ने निर्णय गरिएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
समितिले राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभामा अस्विकृत भए संयुक्त सदनको बैठकले आवश्यक निर्णय लिन सक्ने व्यवस्था पनि गरिएको छ । बैठकमा सदस्यहरुले विधेयक पारित गर्ने प्रस्तावका विषयमा छलफल गरेका थिए ।
यसअघि समितिले प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने, सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले लिखित रुपमै जवाफ दिने व्यवस्था गर्ने लगायतका निर्णयहरु गरिसकेको छ ।
समितिमा प्रतिनिधिसभामा दर्ता हुने प्रस्तावको सर्त, सूचना र संशोधनसम्बन्धि व्यवस्थाका विषयमा पनि छलफल गरिएको छ । त्यसैगरी संसदमा पेश हुने संकल्प प्रस्तावको कार्यविधिका प्रस्तावमाथि पनि छलफल भईसकेका छन् ।
मस्यौदाको परिभाषा खण्ड र बैठक संचालन विधिको विषयमा पनि छलफल भईसकेको समितिका सभापति पोखरेलले जानकारी दिए । संघीय संसद सचिवालयले तयार पारेको प्रस्तावित मस्यौदामाथिको छलफल छिट्टै टुंगोमा पुर्याउने समितिको योजना छ ।
गत फागुन २२ गते गठन भएको समितिलाई १ महिना भित्र आफ्नो प्रतिवेदन तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ । १३ सदस्यीय समितिले भने १५ दिन भित्र सक्ने गरी मस्यौदा निर्माणको कामलाई अघि बढाएको जनाएको छ ।