साउन २६, काठमाण्डौं ।
राजनीतिक तथा ऐतिहासिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र आज सार्वजनिक भएको छ ।
पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो । विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पु¥याइएको थियो ।
अपहरणमा संलग्न कोइरालासँगै दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल समेत रहेका थिए । पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताउनुभयो । उहाँले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पार्नुभयो ।
वृत्तचित्र हेरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्ने धारण ब्यक्त गर्नुभएको छ ।
काँग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताउनु भएको छ ।




