सार्वजनिक सवारी साधनका यात्रु दैनिक ठगिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सार्वजनिक सवारी साधनका यात्रु दैनिक ठगिँदै

फूलमाया आले

काठमाडौं, १३ चैत । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरुलाई व्यवसायीले दैनिक लाखौं ठगी गरीरहेका छन् । यातायात व्यवस्था विभागले दुई बर्ष अघि किलोमिटरको आधारमा भाडादर कायम गरे पनि यातायात व्यवसायीले तोकेको भन्दा बढी भाडा असुलीरहेका छन् ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्नासाथ कति रुपैयाँ तिर्नुपर्छ ? जो कोहीको एउटै उत्तर हुन्छ १५ रुपौयाँ । अर्थात व्यसायीले यात्रुहरुसँग न्यूनतम १५ रुपौपाँ भाडा असुली रहेका छन् । तर, यातायात व्यवस्था विभागले २०७२ साल भदौ २५ गते समायोजन गरेको भाडादरमा न्यूनतम भाडा १३ रुपैयाँ तोकेको छ ।

विभागले शुन्य देखि ४ किलोमिटर सम्मको यात्रा गर्न न्युनतम भाडा १३ रुपौयाँ कायम गरे पनि यातायात व्यवसायीले १५ रुपौयाँ असुलेर यात्रुहरुलाई ठगिरहेका छन् । विभागले तोकेको भाडादरको बारेमा धेरैलाई जानकारी नै छैन । जानकारी भएर पनि के गर्नु ? यात्रुले तिर्नु त आखिर १५ रुपैयाँ नै पर्छ । तोकिएको भाडा लिन आग्रह गर्दा उल्टै दुव्र्यवहार भोग्नुपर्ने यात्रुहरुको गुनासो छ ।

यातायात व्यवस्था विभागले उपत्यकाभित्र न्युनतम चार किलोमिटरसम्मको भाडादर १३ रुपैयाँ र १९ किलोमिटरभन्दा माथिको २४ रुपैयाँ भाडादर तोकेको छ । तर व्यवसायीले भने न्यूनतम १५ रुपैयाँ र अधिकत्तम ३० रुपैैयाँ भाडा असुल गरिरहेका छन् ।

नेपाल यातायात व्यववसायी राष्ट्रिय महासंघका अनुसार उपत्यकामा चल्ने १२ हजार बस, ७ हजार मिनिबस, ५३ सय टेम्पो र ३४ सय माइक्रोबसमा दैनिक करिब ११ लाखले यात्रा गर्छन ।

११ लाख मानिसले दैनिक जान र आउन गरी कम्तीमा दुईपटक सवारी चढ्दा पनि यो संख्या २२ लाख हुन आउँछ । न्यूनतम भाडादर अनुसार मात्र हिसाव गर्ने हो भने पनि प्रत्येक यात्रुसँग दुई रुपौयाँ बढी असुल गर्दा दैनिक ४४ लाख ठगी भइरहेको छ ।

तर, यस विषयमा कसैले चाँसो देखाएका छैनन् । विभागले चालू आर्थिक बर्षमा बढी भाडा लिने १९ सय ५० सवारी साधानलाई कार्बाही गरेर २९ लाख रुपौयाँ जरीवाना असुलेको जनाएको छ । तर, यात्रुले तिर्ने भाडादरमा परिवर्तन देखिएको छैन ।

दिन दहाडै यात्रु ठगिँदा न त नियमनकारी निकायले चाँसो देखाएको छ न त यात्रुहरु नै सचेत देखिन्छन् । एक जना यात्रुले एक पटक यात्रा गर्दा बढी तिरेको दुई रुपौयाँ सामान्य लागे पनि व्यवसायीले दैनिक लाखाैँ ठगी गरिरहेको तत्थ्यले सार्वजनिक यातायातमा देखिएको विकृतिलाई स्पष्ट पार्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);