टिप्पणी –
काठमाडौं, ८ चैत । आफूलाई कम्युनिष्ट दावी गर्ने हुन वा प्रजातन्त्रवादी, नेपालका सबै राजनीतिक दलहरु लोकतन्त्रको कुरा गरेर थाक्दैनन् । तर, अरुलाई लोकतन्त्रको पाठ पढाउने र भाषणमा लोकतन्त्र भनेर नथाक्ने तीनै दलहरुमा आन्तरिक लोकतन्त्रको अवस्था भने दयनीय छ ।
आफूलाई प्रजातन्त्रको ‘ठेकेदार’जस्तै दाबी गर्ने नेपाली कांग्रेस होस वा कम्युनिष्ट भएर पनि लोकतन्त्रको भाषण गरेर नथाक्ने कम्युनिष्ट पार्टी– दुबै पक्षमा आन्तरिक लोकतन्त्रका गम्भीर प्रश्नहरु छन् ।
नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रको पर्याप्त अभ्यास नगर्दा विधानको पालना भएको छैन भने कम्युनिष्ट पार्टीहरुमा पनि विधानको सिमा नैं नदेखिएको अवस्था छ । कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिलाई दुई वर्ष नाघिसक्दा समेत पूर्ण दिएको छैन –जबकी उसकै विधानअनुसार महाधिवेशनको दुई महिना भित्र पार्टीका सबै संरचनालाई पूर्णता दिइसक्नुपर्छ ।
यस्तै अवस्था नेकपा माओवादी केन्द्रमा पनि छ । उसको केन्द्रीय समितिको आकार एक सय ९९ देखि तीन हजार नौं सय ९९ सम्म कहिले पुग्छ र कहिले विघटित हुन्छ भन्न सकिने अवस्था छैन । दलहरुमा आन्तरिक लोकतन्त्र नैं छैन भन्ने अवस्था नरहेपनि त्यसको अभ्यास भने दयनीय देखिएको विश्लेषकहरु बताउँछन् ।
राजनीतिक दलहरुमा भने गुटको व्यवस्थापन नभएपछि मात्र आन्तरिक लोकतन्त्रका कुरा उठ्ने गरेका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि आन्तरिक लोकतन्त्रको बाधक गुटलाई नैं भएको बताउँछन् ।
माओवादी नेता गजुरेलको भनाइमा राजनीतिक विश्लेषक अरुण सुवेदी सहमत छन् । लोकतन्त्रका जति ठूला कुरा गरेपनि राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्रको बहस ठीकसँग नभएको उनको भनाइ छ ।
लोकतन्त्र बहस वा भाषणको विषय नभएर आचरण र अभ्यासबाट स्थापित हुने विषय हो । राजनीतिक दलहरुले गर्ने अभ्यास र आचरणमार्फत नै आन्तरिक लोकतन्त्र मजबुत नपार्ने हो भने समग्र लोकतन्त्र नैं समृद्ध नबन्न सक्छ । यसतर्फ सबैले ध्यान पुर्याउन जरुरी छ ।