विमल जैरु
डडेल्धुरा, ८ चैत । डडेल्धुराको अजयमेरु गाउँपालिका अन्तर्गतको सबै सरकारी कार्यालयमा ई–हाजिरी सुरु गरिएको छ । सेवालाई प्रभावकारी वनाउन गाउँपालिकाले ई–हजिरी सुरु गरेको हो । ई–हाजिरीको व्यवस्था गरेपछि कर्मचारी र शिक्षकहरु समयमा कार्यक्षेत्रमा पुग्न थालेका छन् । गाउँपालिकाले सेवाग्राहीको काम प्रभावकारी भए नभएको हेर्न सिसी क्यामेरा समेत जडान गरेको छ ।
गाउँपालिकाको कार्यालय सहित ६ वटा वडा रहेको अजयमेरु गाउँपालिकाका सवै वडा कार्यालय, १७ वटा विद्यालय र ५ वटा स्वास्थ्य चौकिम ई–हाजिरीको व्यवस्था सुरु गरिएको हो । कर्मचारी शिक्षकहरु समयमा कार्यालय नजाने र पुगेपनि समयसम्म नबस्ने गुनासो आएपछि गाँउपालिकाले ई–हाजिरी सुरु गरेको हो ।
ई–हाजिरी सुरु भएपछि सरकारी कार्यालयको काम र विद्यालयको पठनपाठन प्रभावकारी हुन थालेको छ । अहिले कार्यालयका कर्मचारी विद्यलयका शिक्षक समयमा कार्यक्षत्रमा पुग्ने र समयसम्म बस्ने गरेका छन् ।
गाउँपालिकाले महत्वपूर्ण कार्यालयहरुमा सिसी क्यामेरा पनि जडान गरेको छ । काम भए नभएको अनुगमन गर्न गाउँपालिकाले सिसी क्यामेरा जडान गरेको हो । गाउँपालिकाले सेवाग्राहीको काम छिटो छरितो र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गरेको छ ।