बाँके, ५ चैत । बाँकेमा नियम विपरीत मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा र टेम्पोहरु चलाउने गरिएको छ । अधिकांशले दर्ता नगरिएका अटोरिक्सा जथाभावी राजमार्गमा चलाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
राजमार्गमा गुड्न नपाउने अटोरिक्सा कोहलपुर नेपालगन्ज राजमार्ग, पुर्वपश्चिम राजमार्ग, नेपालगन्ज खजुरा राजमार्गमा चलिरहेका छन् । यातायात व्यवस्था कार्यालय नेपालगन्जले अटोरिक्सा र टेम्पोहरुको व्यवस्थापन गर्ने जनाएको छ ।
यता अटोरिक्सा चालकहरुले भने रिक्साको समिति नभएका कारण व्यवस्थापनमा समस्या भएको बताएका छन् । धेरै लगानी गरेर रिक्सा किनेको भन्दै चालकहरुले आफ्नो रोजगार नखोस्न माग गरेका छन् । बाँकेमा दुई हजार बढी विद्युतीय अटोरिक्सा सञ्चालनमा छन् ।