‘लेटर ग्रेडिङ’ प्रणालीबारे विद्यार्थी र अभिभावक अझै अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘लेटर ग्रेडिङ’ प्रणालीबारे विद्यार्थी र अभिभावक अझै अन्योलमा

letter grading

कविता कार्की
काठमाडौं, ३ चैत
। अन्तर्राष्ट्रिय अभ्यास भन्दै सुरु गरिएको अक्षरांकन अर्थात ‘लेटर ग्रेडिङ’ प्रणालीबारे विद्यार्थी र अभिभावकमा अझै अन्योल देखिएको छ । एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्न सुरु गरिएसँगै विद्यार्थीमा मिहिनेत गर्ने बानी हराउँदै गएको भन्दै शिक्षकहरु चिन्तित भएका छन् ।

शैक्षिक क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त्य तथा परीक्षा सम्झिएर विद्यार्थीहरु डराउने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले लेटर ग्रेडिङ प्रणाली सुरु गरेको एक वर्ष वितेको छ । तर लेटर ग्रेडिङले विद्यार्थी र अभिभावकमा अन्योल बढाएको छ ।

लेटर ग्रेडिङ प्रणालीमा फेलको व्यवस्था नरहँदा विद्यार्थीहरुमा कक्षा चढ्नका लागि मेहनत नै गर्नु पर्दैन भन्ने भावना विकास भएको छ । यसले अभिभावक र शिक्षक चिन्तित देखिएका छन् । विद्यार्थीमा मिहेनत नै नगर्दा पनि हुन्छ भन्ने भावनाले डेरा जमाउँदा कक्षा कोठामा पढाउन नै समस्या सिर्जना हुन थालेको अनुभव शिक्षकहरुले सुनाएका छन् ।

अभिभावकहरु पनि ग्रेडिङ प्रणालीपछि छोराछोरीले अध्ययनमा कम चासो दिन थालेको बताउँछन् । एक त आफूहरुले छोराछोरीको पठनपाठनको स्तर बुझ्न नै नसकेको र अर्को अध्ययनमा भन्दा छोराछोरीको रुची मोबाइल र टीभीमा बढेको भन्दै अभिभावकहरु चिन्तित हुन थालेका छन् । अभिभावकले अहिलेको प्रतिस्पर्धात्मक युगमा लेटर ग्रेडिङ प्रणाली प्रतिस्पर्धा विरोधी रहेको भन्दै पुरानै मूल्यांकन प्रणाली उचित भएको बताए ।

अभिभावक र विद्यार्थीमा चिन्ता बढिरहेका बेला विद्यार्थी स्वयंले पनि लेटर ग्रेडिङ प्रणालीलाई विना मिहेनत कक्षा चढ्न पाइने अवसरको रुपमा बुझेको स्वीकार गरेका छन् । खासगरी पढाइमा कमजोर विद्यार्थीहरुमा मिहेनत नगर्ने बानीको विकास भएको छ ।  तर परीक्षा नियन्त्रण कार्यालयले भने लेटर ग्रेडिङ प्रणालीले मिहेनत गर्नलाई नरोक्ने भन्दै कार्यालयले समयमै बुझाउन नसक्दा अभिभावक र विद्यार्थीले ग्रेडिङ प्रणालीलाई गलत रुपमा बुझेको बताएको छ ।

सरकारले आवश्यक गृहकार्य नगरी लागू गरेका कारण लेटर ग्रेडिङ प्रणालीलाई गलतरुपमा बुझिएको हो । गलत बुझाइ हटाउनतर्फ तथा शिक्षक र अभिभावकमा देखिएको चिन्ता अन्त्य गर्नतर्फ सरोकारवाला निकायले गम्भिर ध्यान दिनुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);