नरी बडु
बैतडी, २७ फागुन । नेपालमा अवसर नदेखेर दैनिक १६ सय बढी युवा श्रमको खोजीमा विदेशिरहेका बेला बैतडीका एक युवा भने गाउँमै मौरी पालन व्यवसायबाट करोडपति बनेका छन् । एक घार मौरीबाट व्यवसाय सुरु गरेका दशरथचन्द नगरपालिकाका बासदेव भट्ट दश वर्षभित्र करोडपति बनेका छन् ।
दशरथचन्द नगरपालिका–५ पल्लो चौडालीका ४० वर्षीय बासुदेव भट्ट १४ वर्षअघि जिल्ला सदरमुकाम गोठलापानीमा चिया पसल गर्थे । त्यतिबेलाको आम्दानीले उनलाई घर व्यवहार टार्न निकै सकस पथ्र्यो । तत्कालीन जिल्ला सभापति परमानन्द भट्टले युवालाई उद्यमशील बनाउने उद्देश्यले मौरी पालनमा प्रोत्साहित गरिरहेका थिए । सोही कार्यक्रम अन्तर्गत बासुदेवले पनि एक घार मौरी पाए । चिया पसल छाडेर मौरीको त्यही एक घारलाई बासुदेवले व्यवसायिक रुप दिए ।
अहिले बासुदेवले मौरीको घार १ सय ५० पुर्याएका छन् । त्यतिमात्रै होइन, उनले मौरी पालनबाट प्राप्त आम्दानीले गाउँमै बाख्रा र टर्की पालना सुरु गरेका छन् । उनिसहित ५ जनाको परिवार अहिले व्यवसायीक बाख्रा, टर्की र मौरी पालनमा सक्रिय छन् । घर व्यवहार टारेर मासिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बासुदेव बताउछन ।
मौरी पालनबाटै उनले ६० लाख रुपैयाँ बराबरको जमिन खरिद गरेका छन् । उनले बाख्रा पालन व्यवसायमा आधुनिक प्रविधिको प्रयोग गरे । एउटा छोरालाई उच्च शिक्षाका लागि जापान पठाएका छन् । आजभोलि उनलाई गाउँलेले पनि विशेष सम्मान दिने गर्छन् ।
उदाहरणीय बासुदेवको सिको गर्दै गाउँमा कतिपय युवा मौरी पालन, बाख्रा पालनतर्फ लागेका छन् । उद्यमशिलतामा लाग्न चाहने युवाहरु पनि उनि सँग परामर्शका लागि जाने गर्छन् । देशमा अवसर नदेखेर युवाहरु विदेशीने होड चलिरहेका बेला बासुदेव उदाहरणीय युवा बनेका छन् ।