काठमाडौं, २६ फागुन । शहरी क्षेत्रमा भुस्याहा कुकुर टाउको दुखाईको विषय बनेको छ । बेलाबेलामा भुस्याहा कुकुर नियन्त्रणका लागि विभिन्न अभियान चलाए पनि प्रभावकारी देखिएको छैन् । भुस्याहा कुकरको टोकाइबाट रेविज लाग्ने हुँदा यसले आतंक नै पैदा गरेको छ ।
शहरी क्षेत्रमा बढ्दै गएको भुस्याहा कुकुरले सर्वसाधारणलाई आतंकित नै बनाएको छ । बिहान बेलुका बाटो हिँड्दा पनि कुकुरले टोक्ने हो की भन्ने चिन्ताले सताउने सर्वसाधारणको भनाइ छ । अझ शारिरिक रुपमा अपाङ्गता भएकाहरु त झनै समस्यामा परेका छन् । कम्युपटर अपरेटर सन्तोष तिमल्सिना आखाँ देख्न सक्दैनन् । तर, कामको सिलसिलामा दैनिक सडकमा आवतजावत गर्नुपर्ने तिमल्सिनाको बाध्यता छ । आवतजावत गर्दा कयौं पटक भुस्याहा कुकुरहरुले टोकेर, भुकेर तथा लखेटेर दुःख दिने गरेको तिमल्सिनाको गुनासो छ ।
तिमल्सिना प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता शारिरिक रुपमा अपाङ्गता भएकाहरुले दैनिक यस्तै समस्या भोगिरहेका छन् । साथै अन्य पैदलयात्रु र मोटरसाइकल चालक समेत भुस्याहा कुकुरको आतंकले आजित छ । काठमाडौं महानगरपालिकाका अनुसार महानगरभित्र करिब ४५ हजारको संख्यामा भुस्याहा कुकुर छन् । भुस्याहा कुकुरको संख्या बढेसँगै कुकुरको टोकाइबाट लाग्ने रेविज विरुद्धको सुइ लगाउन आउनेको संख्यामा पनि बृद्धि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दैनिक चार सय भन्दा बढी रेविज विरुद्धको सुई लगाउन आउने गरेका छन् ।
भूस्याहा कुकुर नियन्त्रणका लागि विभिन्न अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । कुकुुरको बन्ध्याकरण गरेर नियन्त्रणको प्रयास भइरहेको महानगरको भनाइ छ । तर, हालसम्म कति कुकुरहरुको वन्ध्याकरण गरियो भन्ने यकिन तथ्याकं भने छैन् । भुस्याहा कुकुर नियन्त्रण नहुँदा सर्वसाधारणले दैनिक सास्ती बेहोर्नुपरेको छ । त्यस्तैले कुकुर नियन्त्रणका लागि सम्बन्धित निकायले योजनाबद्ध रुपमा काम गर्न जरुरी छ ।




