काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले राष्ट्रियसभामा मनोनित तीन सांसदका लागि शपथ ग्रहण गर्न बाटो खुला गरिदिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडासहित तीन जनालाई तत्काल शपथ नगराउनु भनी यसअघि सर्वोच्च अदालतले फागुन १३ गते दिएको अन्तरिम आदेशलाई आज न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेशसहित निस्तेज गरिदिएको हो ।
योसँगै अर्थमन्त्री खतिवडासहित रामनारायण बिडारी र डा. विमला पौडेललाई सपथ ग्रहणका लागि बाटो खुलेको छ । शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीन जना व्यक्तिको नाम फिर्ता लिएर नयाँ सरकारले अर्थमन्त्री खतिवडा, बिडारी र पौडेलको नाम सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन्।