काठमाडौं, २० फागुन । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पद तथा गोपनीयताको शपथ गराउने भएका छन ।
प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाएका पाँच दलको आज संघीय संसद् भवनमा बसेको बैठकले राजपाका संयोजक ठाकुरबाट प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ गराउने निर्णय गरेको हो । संघीय संसद सचिवालयले यसअघि राजपाकै महेन्द्र यादवबाट सपथ खुवाउने तयारी गरेको थियो । तर यादवको नागरिकताको उमेर ८० बर्ष भएपनि निर्वाचन आयोगमा बुझाएको विवरणमा फरक जन्ममिति रहेकाले ७५ बर्षीय ठाकुरबाट शपथ खुवाउने निर्णय भएको हो ।
खासमा ६३ वर्षीय यादवले आजको शपथग्रहणमा सहभागी नहुने जानकारी गराएका छन । सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले यादवले सहभागी हुन नसक्ने जानकारी गराएकाले ठाकुरबाट शपथ खुवाउने निर्णय भएको जानकारी दिए ।




