उपत्यकासहित पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइयो
तेजना पाण्डित
काठमाडौं, १७ फागुन । रंगहरुको पर्व फागु अर्थात होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईएको छ । आपसी मेलमिलाप र सद्भावकासाथ रंगहरु दलेर होली पर्व मनाईएको हो । नेपाल घुम्न आएका पर्यटकहरुले पनि एकआपसमा रंग दलेर होलीपर्व हर्षोल्लासका साथ मनाएका छन् ।
काठमाडौंको ठमेल, दरबारमार्ग वसन्तपुर लगायतका पर्यटकीय स्थलमा सेतो टीसर्ट लगाएर विदेशी पर्यटकहरु रंगिएको दृश्य निकै मोहक थियो । नेपालीसँगै एकआपसमा मिलेर पर्यटकहरु होली पर्व मनाउन व्यस्त थिए । उनीहरुले ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट लगाएर रंगिएका थिए ।
नेपालीले मनाउने होली पर्व पछिल्लो समय विदेशी पर्यटकले समेत मनाउन थालेका हुन् । जसले गर्दा होली पर्वले नेपाललाई विदेशीसँग एकआपसमा जोड्न पनि सफल भएको छ । होली पर्वमा नेपाल घुम्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको व्यवसायीको भनाई छ । पछिल्लो समय होली मर्यादित बन्दै गएको छ । पहिला-पहिला लोला हानेर शुरु गरिने होली आजभोली प्रहरीको निगरानी बढेसँगै मर्यादित बन्दै गएको हो ।