गर्भपतन गराउनेमा विवाहित भन्दा अविवाहित महिला धेरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गर्भपतन गराउनेमा विवाहित भन्दा अविवाहित महिला धेरै

Pregnant belly

अन्जना तिमल्सिना

काठमाडौं, १७ फागुन । सरकारले कानूनी मान्यता दिएसँगै गर्भपतनले डरलाग्दो रुप लिएको छ । गर्भपतन गराउनेमा विवाहितभन्दा अविवाहित महिला धेरै रहेको पाइएको छ । गर्भपतन गराउनेको भीडमा किशोरीको संख्या ठूलो रहेको चिकित्सकहरुले बताएका छन् ।

गर्भपतन गर्न महिलालाई कानूनले छुट दिएको छ । त्यहि छुटको कानूनलाई टेकेर नेपाली समाजमा गर्भपतन गराउने क्रम दिनहुँ बढेको छ । सरकारले गर्भपतनका लागि स्वास्थ्य संस्थाहरुलाई अनुमति दिएको छ ।

अनुमति प्राप्त संस्थामा अनिच्छित गर्भ पतनका लागि किशोरीदेखि वयस्क महिलासम्मको भीड लाग्ने गरेको छ । सरकारले निश्चित अवधि तोकेर गर्भपतनलाई वैधानिक बनाएपछि पछिल्लो समय भ्रुण हत्याको दर बढेको हो ।

निश्चित शर्तहरु पूरा गरेको खण्डमा गर्भपतन गर्न सकिने कानूनी प्रावधानलाई टेकेर स्वास्थ्य संस्थाहरुले गर्भपतन गराउँदै आएका छन् । वैध गर्भपतनमा विवाहित भन्दा अविवाहितहरुको संख्या बढी देखिएको छ ।

चिकित्सकहरुका अनुसार गर्भपतन गराउने किशोरीहरुको संख्या डरलाग्दो रुपमा बढेको छ । अविवाहित महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

गैरकानुनी तथा असुरक्षित गर्भपतनका कारण मृत्यु हुनेको संख्या बढेपछि सरकारले १६ वर्ष पहिले गर्भपतनलाई कानूनी मान्यता दिएको थियो । बिशेषगरी अविवाहित महिलाहरु जो यौन सम्बन्धबाट टाढा बस्न सक्दैनन तर सन्तान उत्पादन गराउन पनि चाहँदैनन, उनीहरुमा गर्भपतनको दर बढी रहेको छ ।

गर्भपतन गराउने स्वास्थ्य संस्था गल्ली गल्लीमा खुल्नु र सरकारी निकायको अनुगमन फितलो हुनुको परिणाम महिलामा गर्भपतन गराउने क्रम बढेको चिकित्सकहरुको भनाइ छ ।

बारम्बार गर्भपतन गराउँदा रक्तस्राव र बाँझोपनको समस्या देखिने तथा भविष्यमा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर खतरा आउने भन्दै गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा नलिन चिकित्सकले सुझाव दिएका छन् ।

उनीहरुले गर्भपतनबाट हुने जोखिमका बारेमा खासगरी युवा पुस्तालाई शिक्षा दिनुपर्ने अन्यथा गर्भपतन थप झांगिएर गइ सरकारका लागि टाउको दुखाइको ठूलो विषय बन्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);