काठमाडौं ।
पोखरा महानगरपालिकामा निर्वाचित भएर आएपछि मेयर धनराज आचार्यको एउटा परिकल्पना थियो–कोही पनि मानिस सीप नहुँदा बेरोजगार भएर बस्न नपरोस् । युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना ग¥यो । अहिले यही केन्द्र युवाहरूका लागि सीप सिक्ने र स्वरोजगार बन्ने महत्वपूर्ण माध्यम बन्दै गएको छ । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत हालसम्म करिव ३ हजार ५ सय भन्दा धेरै जनाले विभिन्न सीपमूलक तालिम लिइसकेको केन्द्रका अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो । महानगरपालिकाले विभिन्न विधामा तालिम सञ्चालन गर्दै युवालाई दक्ष बनाउने र रोजगारीसँग जोड्ने प्रयास गरिरहेको उहाँ बताउनु हुन्छ ।
यसै क्रममा महानगरपालिकाले पछिल्लो समय सञ्चालन गर्न लागेको छवटा सीपमूलक तालिमप्रति युवायुवतीको आकर्षण निकै बढेको छ । २० जनाको कोटा निर्धारण गरिएका प्रत्येक तालिममा ६ सयभन्दा बढी युवायुवतीले आवेदन दिएका छन् । वेटर तथा वेट्रेस, ३९० घण्टे केयरगिभर, कुक, बरिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता गरी छवटा विधामा तालिम सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । अहिले यी सबै तालिमका लागि आवेदकहरूको अन्तरवार्ता भइरहेको छ । पोखराको सभागृहस्थित व्यवसाय प्रवद्र्धन केन्द्रमा अन्तरवार्ता दिन आउने युवायुवतीको उल्लेख्य भीड देखिन्छ । सीप सिकेर रोजगारीसँग जोडिने आशासहित युवाहरू अन्तरवार्तामा सहभागी भइरहेका छन् ।
प्रत्येक विधामा २० जनाका दरले १२० जनालाई तालिम दिने लक्ष्य महानगरपालिकाले राखेको छ । तर सिमित कोटाका लागि आवेदन दिने युवायुवतीको संख्या भने निकै ठूलो छ । यसले रोजगारीका लागि आवश्यक सीप सिक्न युवाहरू कति उत्साहित छन् भन्ने देखाउँछ । तालिमका लागि महानगरमा पुग्नुभएकी तमन्ना थापाले केही सीप सिकेर स्वदेशमै केही गरौँ भन्ने ध्येयले आएको बताउनु भयो । अर्की प्रशिक्षार्थी स्वस्तिका कँडेलले महानगरपालिकाले फ्रिमा तालिम दिएकाले केयर गिभरको लागि प्रशिक्षण लिन आएको बताउनु भयो ।
पर्यटकीय नगरी पोखरामा होटल, रेस्टुरेण्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा दक्ष जनशक्तिको माग बढिरहेको छ । यही सम्भावनालाई मध्यनजर गर्दै युवालाई सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्नुका साथै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर धनराज आचार्य बताउनु हुन्छ । युवाहरू रोजगारीको खोजीमा छन् । तर आवश्यक सीप र दक्षता नहुँदा अवसर प्राप्त गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा सीपमूलक तालिमले युवालाई आफ्नै ठाउँमा रोजगारी खोज्न, स्वरोजगार बन्न र आत्मनिर्भर जीवनयापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको मेयर आचार्यको भनाइ छ ।
पोखरालाई पर्यटकीय नगरीका रूपमा मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने शहरका रूपमा समेत विकास गर्ने महानगरको प्रयासले युवामा आशा जगाएको छ । २० जनाको कोटामा ६ सयभन्दा बढी आवेदन पर्नुले पनि युवाहरूमा सीप सिक्ने र आफ्नो भविष्य आफैँ निर्माण गर्ने चाहना बढ्दै गएको त्यहा उपस्थीत भएका युवा युवतीले बताएका छन् ।




