विभिन्न सीपमा रमाउँदै दाङका कैदीबन्दीहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभिन्न सीपमा रमाउँदै दाङका कैदीबन्दीहरु

विकास डाँगी
दाङ, ११ फागुन ।
कारागार भन्ने वित्तिकै अदालतबाट फैसला भएका अपराधीहरुको सजाय काट्ने स्थानका रुपमा बुझिन्छ । तर, दाङका २ वटा कारागार भने कैदीबन्दीहरुलाई सजाय दिनेभन्दा पनि सीप सिक्ने थलो तथा सुधार गृह जस्तै बनेका छन् । विभिन्न कारणले जेल जीवन विताइरहेका कैदीबन्दीहरुले खाली समयलाई सदुपयोग गर्दै विभिन्न किसिमका सीपहरु सिक्दै आएका छन् ।

अहिले कारागारमा उनीहरुले कम्प्यूटर शिक्षा देखि मुडा बनाउने, फर्निचरका काम, कटाइ –सिलाइ बुनाई, माछा मार्ने जाल बनाउने, बाँसबाट बन्ने विभिन्न सामग्री बनाउने सीप सिक्दै र सिकाउँदै आत्मनिर्भर हुन थालेका छन् । कारागार प्रशासनले संचालन गरेको विभिन्न तालिमबाट काम सिकेर आत्मनिर्भर बन्न पाउदाँ धेरै खुशी लाग्नुको साथै तनावबाट मुक्त हुने कैदीबन्दीहरुको भनाइ छ ।

घोराही कारागारमा रहेका कैदी हर्क बहादुर कुमालले फर्निचरको सबै काम सिकेका छन् । बाहिर हुदाँ अलि अलि काम गर्ने गरेको भएता पनि कारागारमा आएपछि थप सिक्न पाउँदा अहिले फर्निचर सम्बन्धी सबै काम जानेको उनी बताउँछन् ।

त्यस्तै, घोराही कारागार कै अर्का कैदी प्रकाश चौधरीले सीप सिक्न पाउँदा रमाईलो भएको बताएका छन् । बाँसबाट विभिन्न सामाग्रीहरु बनाउन जानेको र यहिबाट आफुहरुलाई खर्चपानी गर्न समेत आम्दानी भइरहेको उनले बताए ।

कैदीबन्दीले सीप सिक्न थालेपछि अहिले कारागार सिकाइको केन्द्र बन्न थालेका छन् । कारागार भित्रै मुडा बनाउनेदेखि विभिन्न सीपहरु सिकिरहेका कैदीबन्दीहरु पछिल्लो समय कम्युटर शिक्षा सिकेर आफुलाई समय सापेक्ष बनाउन थालेका छन् ।

कारागार भित्र खेर गइरहेको जेल जिवनमा पनि विभिन्न सीप मुलक काम सहित कम्प्युटर सम्बन्धी ज्ञान लिन, पढ्न, कानुनी ज्ञान लिन र कारागारभित्रै स्वारोजगार बनाउने उद्धेश्यले यस्ता सीपमुलक तालिमहरु संचालन गरिएका छन् । कैदीबन्दीहरुको पनि सरल मानिसहरुको जस्तै धेरै सीप सिक्न चाहने र यसले गर्दा आम नागरिकहरु जस्तै दक्ष बनाउनका लागि यो कदम चालिएको घोराही कारागारका जेलर विष्णु पाण्डेले बताए ।

कारागारलाई यातना गृहको रुपमा भन्दा पनि मानव अधिकारमैत्री बनाएर सुधारगृहको रुपमा विकास गर्नुपर्छ भन्ने हेतुका साथ यस्ता कार्यक्रमहरुलाई अघि बढाइएको छ । गत वर्ष साक्षरता कक्षा सञ्चालन गरेको घोराही कारागारले यस वर्ष कम्प्युटर सम्बन्धी ज्ञान, कानुनी साहयता कक्ष लगाएत अन्य तालिम संचालन गरेर कैदीबन्दीहरुलाई ज्ञान प्रदान गरिरहेको दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले जानकारी दिए ।

कारागारभित्र बन्द कोठामा रहेका कैदीबन्दीले सीप सिक्न थालेपछि उनीहरुको जीवन सहज त हुन्छ नै, सभ्य समाजको निर्माण हुने समेत देखिएको छ । दाङका कारागार कैदीबन्दीलाई सीपसँगै सकारात्मक शिक्षा प्रदान गरी कानुनी ज्ञान र रोजगार प्रदान गर्दै सुधार गृहको रुपमा समेत चिनिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);