हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी

लमजुङ। मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनि्छन् । उनी उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्छिन् । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउछिन् । उद्योगमा उनीसँगै अन्य नाै जना स्थानीय महिला पनि सीप सिक्दैछन् । उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदैछिन् । सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीकाे भनाइ छ । ‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उनी बताउँछिन् । उनले भनिन्, ‘त्यसैले मसँगै अन्य नाै जना दिदीबहिनी पनि सिप सिक्दै छन् । साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदैछन् ।’

पाँच लाख लगानीबाट उद्योग सुरु
१५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गरेकी हुन् । सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उनले बताइन् । सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेकाे उनले बताइन् । सिप सिक्नका लागि उनीसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए । स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि  उद्योग सुरु गरेको उनी बताउँछिन् । ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उनले भनीन्, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ ।’

हस्तकलाका सामानको माग र मूल्य राम्रो 
लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ । अबको ६ महिनाभित्रमा २-३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् । उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उनी बताउँछिन् । उद्योगको उत्पादन विदेशसम्म पुराउने उनको सपना छ । सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासु, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ । ‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उनले भनिन्, ‘महिलालाई  सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);