रुसको दक्षिणपश्चिमी क्षेत्र अल्ताई क्राइस्थित एक आवासीय भवनमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मंगलवार बिहान कुलुन्डा गाउँमा रहेको पाँचतले आवासीय भवनमा ग्यास विस्फोट भएको रुसको आपत्कालीन सेवा निकायले जनाएको छ । विस्फोटका कारण भवनको दोस्रो प्रवेशद्वारतर्फका चौथो र पाँचौँ तलाका केही भाग भत्किएका छन् भने आगलागीसमेत भएको थियो । रुसको आपत्कालीन अवस्था मन्त्रालयको क्षेत्रीय शाखाका अनुसार उद्धारकर्मीले भवनबाट पाँच जनालाई सुरक्षित रूपमा बाहिर निकालेका थिए भने अन्य आठ जना आफैँ बाहिर निस्किएका थिए । रुसको सरकारी समाचार संस्था तासका अनुसार घटनामा १४ जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै एक जना पुरिएको हुन सक्ने आशङ्का गरिएको छ । क्षेत्रीय अनुसन्धान समितिले एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको छ । सुरक्षा मापदण्ड पालना नगरेको आशङ्कामा अनुसन्धानकर्ताहरूले आपराधिक मुद्दासमेत दर्ता गरेका छन् ।




