काठमाडौं उपत्यकामा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८३, सोमबार

काठमाडौं उपत्यकामा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौँ ।

काठमाडौं उपत्यकामा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।
चार दिनसम्म श्रद्धा, भक्ति र आस्थाका साथ मनाइएको छठ पर्वको अन्तिम दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको हो । छठ पर्वको अन्तिम दिन बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशयमा व्रतालु र श्रद्धालु भक्तजनको भीड लागेको थियो । काठमाडौंको कमलपोखरी, गौरीघाट, थापाथली, गुह्येश्वरी, कुपण्डोललगायतका स्थानमा छठ मनाउन भक्तजनहरू बिहानैदेखि पूजाका सामग्रीसहित उपस्थित भएका थिए । विशेषगरी कमलपोखरी, बागमती नदी किनार तथा अन्य छठ घाटहरूमा बिहानैदेखि धार्मिक रौनक देखिएको थियो । व्रतालुहरू रातिदेखि नै घाटमा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरेका थिए । बिहान सूर्य उदाएसँगै उनीहरूले जलाशयमा उभिएर सूर्यदेवलाई दूध, जल तथा पूजाका सामग्रीसहित अघ्र्य अर्पण गरेका थिए । यसअघि आईतवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । त्यसपछि रातभर घाटमै जाग्राम बसेर भजनकीर्तन तथा छठी माताको आराधना गरेका उनीहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्पण गरेका हुन् । छठ पर्वका अवसरमा घाटहरूलाई आकर्षक रूपमा सजाइएको थियो । विभिन्न स्थानमा पूजाका लागि आवश्यक व्यवस्था मिलाउनुका साथै सरसफाइ, बत्ती तथा सजावट गरिएको थियो। पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय आयोजक समिति, स्वयंसेवक तथा सुरक्षाकर्मीसमेत परिचालन भएका थिए । छठ पर्वमा बाँसबाट निर्मित ढाकी, सुपलीलगायतका सामग्रीमा केरा, नरिवल, उखु, अदुवा, बेसार, विभिन्न फलफूल तथा घरमै तयार पारिएका ठकुवा, भुसुवालगायतका प्रसाद राखेर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ । व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै सूर्यदेव र छठी माताको पूजा आराधना गरेका थिए । चार दिनसम्म मनाइने छठ पर्व नहाय–खायबाट सुरु हुन्छ । दोस्रो दिन खरना विधि पूरा गरी व्रतालुहरूले निर्जला व्रत शुरु गर्छन् । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत सम्पन्न गर्ने परम्परा छ । छठ पर्व सम्पन्न भएसँगै व्रतालुहरूले पारन विधि पूरा गरी व्रत तोडेका छन् ।

Leave a Reply