नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

नेपाल आफैँमा एउटा ठूलो स्टुडियो होः हरिवंश आचार्य

काठमाडौं ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वकै लागि एउटा खुला स्टुडियोका रूपमा व्याख्या गर्नुभएको हो । काठमाडौं फिल्म फेस्टिभलको मञ्चबाट बोल्दै वरिष्ठ कलाकार आचार्यले चलचित्र क्षेत्रलाई थप व्यावसायिक र गौरवमय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नेपाली चलचित्र क्षेत्रलाई दिएको अभिभावकत्वको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिनुभयो । आचार्यकाअनुसार नेपालको भौगोलिक अवस्था र ऐतिहासिक सम्पदाहरू फिल्म छायाङ्कनका लागि संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छन् ।

उहाँले चलचित्रलाई विश्वले बुझ्ने साझा भाषाको रूपमा उल्लेख गर्दै गौरवमय इतिहास बोकेका नेपाली चलचित्रहरू निर्माण गर्नुपर्ने दायित्व चलचित्रकर्मीहरूको काँधमा रहेको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाले आयोजना गरेको यस फेस्टिभललाई हालसम्मकै वृहत् र गरिमामय कार्यक्रमको संज्ञा दिनुभयो । फेस्टिभलको सफलताका लागि खटिने सम्पूर्ण प्राविधिक र सहयोगी टिमप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले यस कार्यक्रमले नेपाली चलचित्रको इज्जत र उचाई बढाएको बताउनु भयो । खेलकुद र सङ्गीत जस्तै चलचित्र पनि राष्ट्रको पहिचानको बलियो आधार भएको भन्दै उहाँले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने चलचित्र निर्माणको अभियानमा लाग्न सम्पूर्ण चलचित्रकर्मीहरूलाई आह्वान गर्नुभयो । –

Leave a Reply