पूर्वाधार विकास समितिले भन्योः नागढुङ्गा सुरुङमार्गमा ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनू | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

पूर्वाधार विकास समितिले भन्योः नागढुङ्गा सुरुङमार्गमा ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनू

काठमाडौं ।

पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्गमा तीनदेखि ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको छ । आज सुरुङमार्गको स्थलगत अवलोकन पछि समिति सभापति आशिष गजुरेलले  नगद भुक्तानीको व्यवस्थाले टोल संकलनमा समय लाग्ने र सवारीसाधनको लामो लाइन लाग्न सक्ने भएकाले कार्डमार्फत भुक्तानी गर्दा कम शुल्क लाग्ने प्रणाली लागू गर्न भनेको बताउनु भयो । उहाँकाअनुसार आरएफआईडी कार्डबाट २०० रुपैयाँ र नगद भुक्तानी गर्दा ३०० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न सके कार्डको प्रयोग बढाउन सकिनेछ । हाल आरएफआईडी कार्ड र नगद दुवै माध्यमबाट टोल शुल्क तिर्न सकिने व्यवस्था छ । आरएफआईडी कार्ड आठवटा बैंकमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको र एउटा कार्डको मूल्य ५ सय रुपैयाँ रहेको छ । उक्त कार्ड पाँच वर्षसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । कार्डमा रकम रिचार्ज गरेपछि टोल प्लाजामा रहेको डिटेक्टरले कार्ड पहिचान गरी शुल्क कटौती गर्ने र गेट स्वतः खुल्ने प्रणाली रहेको छ ।गजुरेलले आरएफआईडी प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सडक विभाग र सडक बोर्ड नेपाललाई समयसीमा तोकेर काम अघि बढाउन भनेको बताउनु भयो ।

गजुरेलले सुरुङमार्गको सञ्चालन तथा सुरक्षा व्यवस्थापन सन्तोषजनक रहेको समेत बताउनुभयो । सुरुङभित्र अग्नि नियन्त्रण प्रणाली, अलार्म प्रणालीलगायतका सुरक्षा प्रविधिको व्यवस्था गरिएको पाइएको उहाँको भनाइ रहेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउँदैछ । सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार आयोजनाले टोल शुल्क उठाउन लागेको छ ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो ।
सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ । त्यस्तै, मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ । बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० र काठमाडौंबाट प्रस्थान गर्दा २ सय दस्तुर तोकिएको छ ।

Leave a Reply