पाकिस्तान–अफगानिस्तान सीमामा भिडन्तः पाकिस्तानी सेनाद्वारा जवाफी कारबाही, स्थिति तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

पाकिस्तान–अफगानिस्तान सीमामा भिडन्तः पाकिस्तानी सेनाद्वारा जवाफी कारबाही, स्थिति तनावग्रस्त

पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वासँग जोडिएको सीमावर्ती क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको गोलीबारीको पाकिस्तानी सेनाले कडा जवाफी कारबाही गरेको छ । शनिबार भएको यस घटनामा विदेशी लडाकुहरूलाई पाकिस्तानी भूभागभित्र अवैध प्रवेश गराउने उद्देश्यले सीमापारबाट आक्रमण गरिएको पाकिस्तानी सुरक्षा स्रोतहरूले दाबी गरेका छन् । पाकिस्तानी सुरक्षा निकायकाअनुसार अफगानिस्तानतर्फबाट अचानक अन्धाधुन्ध गोलीबारी शुरु भएपछि सीमा सुरक्षामा तैनाथ पाकिस्तानी सेनाले तत्काल सशक्त प्रत्याक्रमण गरेको थियो । सुरक्षा अधिकारीहरूले यो आक्रमण विदेशी सशस्त्र समूह तथा लडाकुहरूलाई गैरकानूनी रूपमा पाकिस्तानी भूमिमा प्रवेश गराउने रणनीतिक योजना अनुसार भएको बताएका छन् ।
जवाफी कारबाहीका क्रममा पाकिस्तानी सेनाले अफगानिस्तानतर्फका विभिन्न सामरिक पोस्ट तथा सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । दोहोरो भिडन्तका क्रममा अफगानिस्तानका केही सशस्त्र सुरक्षाकर्मी हताहत भएको र उनीहरूको एउटा बेसक्याम्प पूर्ण रूपमा ध्वस्त भएको पाकिस्तानी पक्षको दाबी छ । सैन्य स्रोतकाअनुसार उक्त कारबाहीपछि अफगान पक्ष आफ्नो सीमावर्ती पोस्ट खाली गरेर पछि हटेको छ ।
यद्यपि, यस घटना र क्षतिबारे अफगानिस्तानको तालिवान प्रशासन वा अफगान पक्षबाट कुनै स्वतन्त्र पुष्टि वा आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। दुई देशबीच लामो समयदेखि ड्युरन्ड लाइन सीमाक्षेत्रमा हुने घुसपैठ र आतंकवादी गतिविधिलाई लिएर कुटनीतिक तथा सामरिक तनाव रहँदै आएको छ । पाकिस्तानी सेनाले राष्ट्रिय सुरक्षा र सीमाको रक्षाका लागि आफूहरू पूर्ण रूपमा सतर्क र प्रतिवद्ध रहेको जनाएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा दुई देशका सुरक्षाकर्मीबीच हुने यस्ता सैन्य झडपले क्षेत्रीय शान्ति र कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउँदै लगेको विश्लेषकहरूको ठम्याइ छ ।

Leave a Reply