साउदी अरबमाथि हुने हुथी आक्रमणको निन्दा गर्दै एर्दोगानद्वारा रियादलाई पूर्ण समर्थनको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

साउदी अरबमाथि हुने हुथी आक्रमणको निन्दा गर्दै एर्दोगानद्वारा रियादलाई पूर्ण समर्थनको प्रतिवद्धता

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले साउदी अरबमाथि यमनको हुथी विद्रोही समूहले गरेको आक्रमणको कडा निन्दा गरेका छन् । साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग मङ्गलबार भएको टेलिफोन संवादका क्रममा राष्ट्रपति एर्दोगानले साउदी अरबको सुरक्षा र अखण्डताप्रति टर्कीको पूर्ण समर्थन रहेको पुनः दोहो¥याएका हुन् । टर्कीको राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार दुई नेताबीच पछिल्लो समय मध्य–पूर्वमा देखिएको सुरक्षा चुनौती र साउदी भूमिमा भइरहेका आक्रमणका घटनाबारे विस्तृत छलफल भएको छ। विशेषगरी गत शनिवार रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको घातक प्रहारले यस क्षेत्रको सुरक्षा अवस्था गम्भीर बनाएको छ । साउदी नागरिक उड्डयन प्राधिकरणकाअनुसार रियाद विमानस्थलमा भएको उक्त आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । हुथी विद्रोहीहरूले पछिल्ला दिनहरूमा रियादलाई केन्द्रित गरी आफ्नो आक्रमणलाई तिब्र पारेपछि क्षेत्रीय शक्तिहरू चिन्तित बनेका छन् । टर्की र साउदी अरबबीच गत अगस्टमा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौताको जगमा उभिएर अक्टोबर ५ मा दुवै राष्ट्रले हुथी विद्रोहीको आक्रमण रोक्न र साउदी सुरक्षा सुदृढ गर्न आवश्यक सैन्य जनशक्ति तथा स्रोतसाधन तैनाथ गर्ने योजना सार्वजनिक गरेका थिए । यसै सन्दर्भमा राष्ट्रपति एर्दोगानको पछिल्लो अभिव्यक्तिले क्षेत्रीय सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने संकेत गरेको छ। विज्ञहरूकाअनुसार टर्कीको यो सक्रियताले क्षेत्रीय कुटनीतिमा नयाँ समीकरणको संकेत गरेको छ । विशेषगरी साउदी अरब र पाकिस्तानसँगको त्रिपक्षीय सुरक्षा साझेदारीले हुथी विद्रोहीविरुद्धको साउदी प्रयासलाई रणनीतिक बल प्रदान गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

ताजा समाचार