मौरिससमा हिंसा भड्किएपछि कर्फ्यु आदेशः प्रधानमन्त्री रामगुलामद्वारा शान्तिको अपिल | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

मौरिससमा हिंसा भड्किएपछि कर्फ्यु आदेशः प्रधानमन्त्री रामगुलामद्वारा शान्तिको अपिल

मौरिससका प्रधानमन्त्री नविनचन्द्र रामगुलामले देशभर भड्किएको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन मंगलवार रात्रिकालीन कफ्र्युको घोषणा गर्नुभउको छ । स्थानीय समयअनुसार मंगलबार राति ८ः३० बजेदेखि बुधवार बिहान ६ः०० बजेसम्मका लागि लगाइएको यो निषेधाज्ञाले देशमा जारी पछिल्लो तनावपूर्ण परिस्थितिलाई थप प्रष्ट पारेको छ । सोमवार साँझदेखि मौरिससका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्ने, सवारीसाधनमा आगजनी गर्ने, प्रहरी चौकी र पसलहरू तोडफोड गर्ने जस्ता अराजक गतिविधि गर्दै आएका छन् । परिस्थितिलाई गम्भीर रूपमा लिँदै प्रधानमन्त्री रामगुलामले राष्ट्रको नाममा सम्बोधन गर्दै हिंसात्मक कार्यहरू ‘अस्वीकार्य’ भएको बताउनुभएको छ । उहाँले नागरिकहरूलाई संयमता अपनाउन र राष्ट्रिय एकता प्रदर्शन गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्रीकाअनुसार हालैका हिंसात्मक घटनाहरू सुनियोजित देखिन्छन् । उहाँले प्रहरी कारबाहीबाट त्रसित भएका ड्रग माफियाहरूले पैसा खर्च गरी यस्ता समूहहरूलाई परिचालन गरेको दाबी गर्नुभएको छ । सरकारले आवश्यक स्वास्थ्य सेवा र आपत्कालीन कार्यहरूका लागि कफ्र्युको अवधिमा विशेष व्यवस्था मिलाइएको जनाएको छ ।
यसैबीच, मुलुकमा लामो समयदेखि पानीको आपूर्तिमा देखिएको समस्या र गत शुक्रवार २७ वर्षीया एलोडी थोमसलाई प्रहरी अधिकारीले गोली हानी घाइते बनाएको घटनापछि जनआक्रोश बढेको थियो । कुनै स्पष्ट कारणबिनै भएको भनिएको उक्त गोलीकाण्डले नागरिकहरूलाई थप आन्दोलित बनाएको छ । सरकारले आगामी कदम चाल्नका लागि बुधवार दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ । सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको र दोषीमाथि कडा कारबाही गरिने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ ।

Leave a Reply

ताजा समाचार