संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिकाद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध घोषणा गरिएको प्रतिवन्धको कडा शब्दमा निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले संस्थागत रूपमै अदालतलाई लक्षित गरी लगाइएको यस्तो प्रतिवन्धले विश्वव्यापी फौजदारी न्याय प्रणालीमा गम्भीर धक्का पुग्ने चेतावनी दिनुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रवार नियमित प्रेस ब्रिफिङमार्फत महासचिवको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । प्रवक्ता डुजारिकका अनुसार, अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुन र विधिको शासन प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा ठूलो चुनौती खडा गरेको छ । महासचिव गुटेरेसले अदालतको सम्पूर्ण संरचना र यसको कार्यसम्पादन क्षमतामा प्रतिवन्धले पार्न सक्ने असरप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । विशेषगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् तथा रोम विधानका पक्ष राष्ट्रहरूद्वारा पठाइएका मुद्दाहरूको अनुसन्धान र सुनुवाई गर्ने अदालतको निरन्तर क्षेत्राधिकार यसबाट प्रभावित हुने राष्ट्रसंघको ठहर छ ।
प्रवक्ता डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आईसीसी अन्तर्राष्ट्रिय फौजदारी न्यायको आधारस्तम्भ हो । आजको यो निर्णय न्याय, शान्ति, सुरक्षा तथा मानवअधिकार रक्षाको साझा विश्वव्यापी संकल्पमाथिको गम्भीर प्रहार हो ।’
महासचिवले अन्तर्राष्ट्रिय अपराधमा संलग्नहरूलाई जवाफदेही बनाउन र पीडितलाई न्याय दिलाउन अदालतको भुमिका अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । यसैगरी महासचिव गुटेरेसले आईसीसी तथा त्यहाँ कार्यरत अधिकारीहरूको न्यायिक निष्पक्षता र स्वायत्तताप्रति संयुक्त राष्ट्रसंघको अविचलित समर्थन दोहो¥याउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायका सबै सदस्य राष्ट्रहरूलाई कानूनको शासनको सम्मान गर्न र जघन्य अपराधविरुद्धको जवाफदेहिता सुनिश्चित गर्ने कार्यमा ऐक्यवद्धता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रसंघले आगामी दिनमा पनि अदालतसँगको संस्थागत सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।




