अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको आगामी वार्षिक बैठक आयोजना गर्न थाइल्यान्डले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । थाइल्याण्डका उपप्रधान तथा अर्थमन्त्री एकनीती नीतिथानप्रापासले शुक्रवार आयोजना स्थलको निरीक्षण गर्दै अक्टोबर १२ देखि १८ सम्म आयोजना हुने सो विश्वस्तरीय सम्मेलनको व्यवस्थापकीय तयारी सम्पन्न भएको औपचारिक जानकारी दिनुभएको हो । बैंककस्थित क्वीन सिरिकित राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने यस वृहत सम्मेलनमा विश्वका १९१ देश तथा क्षेत्रहरूबाट १५ हजारभन्दा बढी नीतिनिर्माता, अर्थशास्त्री, सरकारी अधिकारी, व्यावसायिक नेतृत्व तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ । कार्यक्रममा सहभागीहरूले मन्दी, मुद्रास्फीति र भू–राजनीतिक तनावबीच विश्व अर्थतन्त्रको वर्तमान अवस्था तथा आगामी दिशाका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ ।
थाइल्याण्ड सरकारले यस अन्तर्राष्ट्रिय मञ्चलाई दक्षिणपूर्वी एशियामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने रणनीतिक केन्द्रका रूपमा उपयोग गर्ने योजना बनाएको छ । अर्थमन्त्री एकनितीकाअनुसार सम्मेलनका दौरान थाइल्याण्डले आफ्नो डिजिटल पूर्वाधार, स्वच्छ ऊर्जा तथा वैदेशिक लगानीका सहुलियतहरूको व्यापक प्रचार गर्नेछ । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) र विद्युतीय सवारी साधन (ईभी) उत्पादनको क्षेत्रमा वैदेशिक पुँजी आकर्षित गर्न थाइल्यान्डले प्राथमिकता दिएको छ ।
सम्मेलनलाई पूर्ण रूपमा सुरक्षित बनाउन रोयल थाई प्रहरीसँग समन्वय गरी बहुस्तरीय सुरक्षा संयन्त्र परिचालन गरिएको छ। सम्मेलन स्थलमा १७ वटा एक्सरे जाँच विन्दु र १९ वटा वाक–थ्रु सुरक्षा द्वारसहित २४ सै घण्टा सीसीटीभी निगरानीको व्यवस्था मिलाइएको छ । त्यसैगरी विदेशी प्रतिनिधिहरू बस्ने २१ वटा आधिकारिक होटलहरूमा समेत २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ रहने आयोजकले जनाएका छन् । वातावरणीय दृष्टिकोणबाट सम्मेलनलाई उदाहरणीय बनाउँदै ‘हरित बैठक’ (ग्रिन मिटिङ) को अवधारणा लागू गरिएको छ । अर्थ मन्त्रालयको वित्तीय नीति कार्यालयका महानिर्देशक विनित विसेसुवानापूमकाअनुसार प्रतिनिधिहरूको आवतजावतका लागि ३२० भन्दा बढी विद्युतीय सवारी साधन परिचालन गरिनेछ । यसबाट करिव ९५.८ मेट्रिक टन कार्बन उत्सर्जन न्युनिकरण हुने अनुमान गरिएको छ । साथै, सम्मेलन पूर्ण रूपमा कागजविहीन रहने, एकल–प्रयोग प्लास्टिकको प्रयोग कटौती गरिने र खानाका अवशेषहरूलाई कम्पोस्ट मलमा रूपान्तरण गरिने प्रबन्ध मिलाइएको छ ।
This website uses cookies.