काठमाडौं ।
नेपाली काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि भनिएअनुसारको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अब रुपान्तरणको पनि रुपान्तरण आवश्यक रहेको बताउनु भयो । काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिनुभएका कांग्रेस विशेष महाधिवेशनपछि पनि ‘रनवेमा अड्किएको’ टिप्पणी गर्नुभयो । पूर्ण महाधिवेशनपछि पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले काँग्रेसमा पार्टी सभापतिलाई बलियो बनाउनुपर्ने बताउनु भयो । सभापति बलियो बनाउनुको अर्थ व्यक्तिगत रूपमा साथ दिने नभई सही नीति निर्माणमा सहयोग गर्ने र त्यसलाई कार्यकर्ता तथा जनतासम्म पु¥याउने भएको उहाँको भनाइ छ । काँग्रेसको महाधिवेशन प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको उल्लेख गर्दै उहाँले केन्द्रिय पदाधिकारीको नेतृत्वमा युवा आवाज सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार करिव ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएका छन् र तीमध्ये बहुसंख्यक ४५ वर्षमुनिका छन् । सभापतिसँगै केन्द्रिय पदाधिकारीको बैठकमा उहाँभन्दा कम उमेरका व्यक्ति पदाधिकारीमा हुनुपर्ने उहाँको भनाई छ ।उहाँले आफूले महामन्त्री पदलाई पार्टी रूपान्तरणका लागि ‘स्टेपिङ स्टोन’का रूपमा लिएको बताउनुभयो । वीपी कोईरालाले आफ्नो कार्यक्रम आफैँ लेखेर कार्यान्वयनमा लैजाने गरेको उल्लेख गर्दै उहाँले आफूले पनि केही कार्यक्रम अघि सारेको र त्यसअनुसार पार्टीलाई अघि बढाउन चाहेको बताउनु भयो । काँग्रेसका प्रतिनिधिमा रहेको असन्तुष्टि र छटपटीलाई राजनीतिक एजेण्डा र गन्तव्य दिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उहाँको भनाई छ ।
उहाँले महामन्त्रीको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट पार्नुभयो । देशभरीका महाधिवेशन प्रतिनिधिको हौसला र आफ्नै दममा महामन्त्रीमा उम्मेद्वारी दिएको उहाँको भनाई छ । उहाँले आफू महामन्त्रीमा बिजयी हुनेमा ढुक्क रहेको बताउनु भयो । काँग्रेसको इतिहासमा पदाधिकारी दोहो¥याउने अभ्यास नभएको पनि बताउनुभयो । आफू ‘अनटेस्टेड’ रहेको उल्लेख गर्दै तिवारीले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताउनु भयो । केन्द्रिय कार्यसमितिमा नरहेपनि पार्टीका निर्णय कार्यान्वयन र नीतिगत विषयमा आफूले निरन्तर बहस तथा पैरवी गर्दै आएको उहाँको दाबी छ ।देशभरका कार्यकर्ताको समर्थनबाट आफू महामन्त्रीमा विजयी हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो । तिवारीलाई पार्टी सभापति गगन थापाको विश्वास पात्रको रुपमा समेत चिनिन्छ । –
This website uses cookies.