काठमाडौं ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । प्रचारप्रसार समितिकबा संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । अबको केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । उहाँले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि बिहीवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागी ७ हजार बढी प्रतिनिधिले पार्टीको अगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उहाँका अनुसार मतदानका लागि काठमाडौंका ३ स्थानमा ७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले जानकारी दिनुभयो । राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो ।उहाँले महाधिवेशनको उत्साह र उम्मेदवारीले नयाँ पुस्ता नेपाली काँग्रेसको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएको उहाँको भनाइ छ ।




