राजनीति

सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

काठमाडौं ।

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बन्नुभएका रसाईले पुनः सोही पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेद्वारी दिने बताउनु भयो । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ । सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । पार्टीको १५ औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्वपूर्ण अवसर बन्ने उहाँले बताउनु भयो । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन र मुलुकलाई नयाँ दिशामा अघि बढाउन कोशेढुंगा सावित हुने उहाँको भनाइ छ । मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशालाई अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले वीपी कोईरालाको नेतृत्वकालमा काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गर्नुभयो । वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुनेगरी पार्टीको विधान र संरचना निर्माण गरेको उहाँको दाबी छ ।

उहाँले सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रसाईली पार्टीको १४ औँ महाधिवेशनमा दलित समावेशी तर्फबाट पार्टीको केन्द्रिय सदस्य निर्वाचित हुनुभएको थियो । १५ औँ महाविधेशनमा उहाँ बझाङबाट महाविधेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो ।

Related Post
Share

This website uses cookies.