मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन

काठमाडौँ ।

अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद (आइसोलेटेड) भएको छ । विद्युत प्रशारण लाइनमा क्षति पुगेपछि जिल्लाभर ‘ब्ल्याकआउट’ भएको छ भने बेनी–जोमसोम–कोरोला सडक खण्डका ४६ स्थानमा क्षति पुग्दा स्थानीय जनजीवन र राष्ट्रिय आपूर्ति प्रणालीसमेत प्रभावित बनेको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा मुस्ताङका नेपाली काँग्रेस सांसद योगेश गौचन थकालीले मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनु भयो । विशेषगरी लुक्रा गाउँमा स्थानीयहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भयो । पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र सञ्चार प्रणालीमा धक्का पुगेको छ ।

म्याग्दीको दानामा रहेको सब–स्टेशन र ३३ केभी प्रशारण लाइनमा क्षति पुग्दा तीन दिनदेखि मुस्ताङ अन्धकारमा छ । उहाँले बेनी–जोमसोम–कोरोला सडक खण्ड केवल स्थानीय सडक मात्र नभई रणनीतिक महत्वको राष्ट्रिय पूर्वाधार भएको स्मरण गराउनु भयो । यो सडक अवरुद्ध हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापारिक कनेक्टिभिटी र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ । सांसद थकालीले यस विपत्तिलाई ‘राष्ट्रिय सुरक्षा’ र ‘जलवायु सुरक्षा’को दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार