काठमाडौँ ।
नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्यटकीय क्षेत्र धनकुटा नगरपालिकास्थित हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले स्थानीय बासिन्दा तथा व्यवसायीहरूको अर्बौँको लगानी जोखिममा परेको भन्दै भूमिसुधार मन्त्रालयमा अड्किएको प्रक्रिया तुरुन्त अगाडि बढाउन ध्यानाकर्षण गराउनुभएको हो । सांसद राईले धनकुटाको प्रमुख पर्यटकीय केन्द्र हिले बजारको जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा र व्यवसायीहरू गम्भीर समस्यामा परेको बताउनु भयो । भारत, बंगलादेश, भूटान तथा सिक्किमबाट समेत पर्यटकहरू आउने ऐतिहासिक हिले बजारमा आर्थिक गतिविधि सुस्त बन्दै गएको उहाँको भनाइ छ । सांसद राईकाअनुसार वि.सं. २०६६ सालमा उत्तरपानी चिया बगान प्रणालीको ११५१ रोपनी जग्गामध्ये १४८ रोपनी जग्गा मन्त्रालयको निर्णयबमोजिम सट्टापट्टा गरी विभिन्न सार्वजनिक संरचना तथा स्थानीय बासिन्दालाई लालपुर्जा वितरण गरिएको थियो । उक्त जग्गामा संघीय सरकारको बजेटबाट खेलमैदान, नगरपालिकाको बजेटबाट बसपार्क, वडा कार्यालयको पहलमा समाधिस्थल, वक्रकुण्ड मन्दिर तथा २६६ जना स्थानीयको निजी आवास तथा व्यावसायिक भवनहरू निर्माण भएका थिए । तर उक्त जग्गालाई वि.सं. २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौखिक रूपमा र पछि २०७५ सालमा औपचारिक रूपमा रोक्का राखेपछि समस्या शुरु भएको हो ।
त्यसपश्चात स्थानीयहरू विशेष अदालत पुगेको र अदालतले यस विषयमा आवश्यक निर्णय लिने अधिकार भूमिसुधार मन्त्रालयलाई सुम्पिएको सांसद राईले सदनलाई जानकारी दिनुभयो । जग्गा रोक्का रहेका कारण स्थानीय व्यवसायीहरूले तीनदेखि चार अर्ब रुपैयाँ बराबरका भौतिक संरचना बनाएर पनि बैंकिङ कारोबार तथा कर्जा लिनबाट वञ्चित हुनुपरेको उहाँले बताउनु भयो । पछिल्लो समय जिल्ला समन्वय समितिको नेतृत्वमा मालपोत, नापी, वन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का प्रतिनिधि सम्मिलित समितिले सर्जमिन मुचुल्कासहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको भए पनि काम अघि नबढेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद राईले नयाँ सरकारले सुशासन र द्रुत सेवा दिने प्रतिवद्धता जनाएकाले पीडित नागरिकको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो ।




